पन्चकन्या २ को ५३ लाख गायब प्रकरण : वडाध्यक्ष मिश्र शंकाको घेरामा

विदुर खबर २०७८ वैशाख ५ गते १६:२२

नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयबाट गायब भएको भनिएको ५३ लाख रुपैंयाँ रकम स्थानीय जनप्रतिनिधि र कर्मचारीको लापरवाहीका कारण मात्र नभइ उनीहरुकै संलग्नतामा गायब बनाइएको हुनसक्ने आशंका गरिएको छ ।

Advertisement

चैत २४ गते राति सामाजिक सुरक्षा वापतको ५३ लाख रुपैंयाँ चोरी भएको खबर बाहिरिएको थियो । उक्त रकम चोरी भएको भनि हल्ला गरिएपनि चोरी भएको स्थानको प्रकृति हेर्दा पालिका तथा वडा कार्यालयकै कर्मचारी र जनप्रतिनिधिकै मिलेमतोमा रकम गायब बनाइएको हुनसक्ने आशंका गरिएको छ ।

Advertisement

स्थानीय जगदीश कुइँकेलले घटना शंकास्पद रहेको बताए । कुइँकेलले वडा कार्यालयबाट नजिकै रहेको बैंकमा पैसा नराखिनु, वडा कार्यालयमै रकम राखिनु, रहस्यमय र नाटकीय ढंगबाट रकम हराउनु साथै अनुसन्धानलाई फितलो बनाइ घटनामा संलग्नहरुलाई जोगाउने प्रयास गरिरहनुले रकम चोरी भएको नभइ मिलेमतोमा गायब बनाइएको आशंका बढेको बताए। उनी भन्छन्,‘प्रहरी प्रशासनलाई समेत प्रभावमा पारेर अपराधी जोगाउने र घटनलाई दबाउने प्रयास भइरहेको छ । कर्मचारी र जनप्रतिनिधिको यस्तो चरम दादागिरी तथा लापरवाही हामी वडाबासीका लागि मान्य हुनेछैन् ।’

Advertisement

रकम चोरी भएको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय नुवाकोटले अनुसन्धान गरिरहेको छ । नुवाकोटका प्रहरी प्रमुख तुल बहादुर कार्कीले अनुसन्धान जारी रहेको जानकारी दिए । उनी भन्छन्,‘अनुसन्धान जिरोबाट शुरु गर्नुपर्ने र एकसय प्रतिशत अनुसन्धान नसकिएसम्म घट्नाको यथार्थ अहिले नै भन्न सकिदैन् तर हामीले सबैसँग सोधपुछ गर्नेक्रम जारी राखेका छौं ।’ वडाध्यक्ष, वडा सचिब, प्राविधिक, कार्यालय सहयोगी, गाउँपालिकाका कार्यकारी अधिकृतलगायत सबैसँग अनुसन्धान गर्ने पनि उनले जानकारी दिए । 

राष्ट्र बैंकको नियम अनुसार उक्त रकम सम्बन्धित व्यक्तिको बैक खातामा जानुपर्ने, रकम सुरक्षाका लागि प्रहरी प्रशासनको सहयोग लिनुपर्ने, रकम राख्नै परेपनि प्रहरी प्रशासन र जनप्रतिनिधिको रोहवरमा मुचुल्का उठाउनुपर्ने लगायतका विषयहरु रहेपनि वडा कार्यालयले यी कुनै विषयमा जनप्रतिनिधि र कर्मचारीहरु जिम्मेवार नबनेको स्थानीयको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशासिकय अधिकृत नरेश पुडासैनीले रकम हराएको पुष्टी गर्दै बैंक अभावमा रकम वडा कार्यालयमै राख्ने गरिएको बताए । उनले भने, ‘बैंक शाखा आउने भनेर पनि नआएकाले आज दुर्घट्ना व्यहोर्नु परेको छ, घटना घटिसकेपछि मात्र धेरै कोणबाट प्रश्न उठाइएको छ तर अनुसन्धानमा सबैले सहयोग गर्नुपर्छ ।’

वडाध्यक्ष ध्रुव प्रसाद मिश्रले घट्ना घट्नुमा कर्मचारीहरुबाट नै लापरवाही भएको बताए । उनले भने,‘घटना रहस्यमय छ, तीन जना कर्मचारीलाई अनुसन्धान भइरहेको छ । घटनाको अवस्था हेर्दा ताला नफोरिएको, दराजमा दाग नदेखिए पनि पैसा हराएको छ । लापरवाही भएको छ ।’

‘मैंले वडा कार्यालयमा पैसा नराख्नु भनेर पटक पटक भन्नेगरे पनि सुनुवाइ नभएको र कर्मचारीले हेलचेक्र्याइ गरेका कारण ठूलो घट्ना ब्यहोर्नुपर्यो,’ वडाध्यक्ष मिश्रले भने । यता स्थानीय भने रकम चोरी नभएको तर वडाध्यक्ष र कर्मचारीहरुकै मिलेमतोमा रकम ढिसमिस बनाउने प्रयास भइरहेको बताउँछन् । स्थानीयले विरोध प्रदर्शनको पनि तयारी गरेका छन् । 

उनीहरुले अनुसन्धानका क्रममा जिम्मेवार ब्यक्तिलाई छुट दिएर सामान्य कर्मचारीलाई फसाउन खोजिएको पनि बताए । स्थानीय कुइँकेल भन्छन्, ‘यस्तो घट्ना भइसकेपछि राजनीतिक दल, स्थानीय सरोकारवाला, प्रहरी प्रशासन, पत्रकारहरु सबैलाई बोलाएर घट्नाबारे जानकारी दिने र अनुसन्धान गर्नुको साटो घट्नालाई दबाउन खोजिएको छ ।’

घट्नाको विषयलाई लिएर नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतले आपत्ति जनाउँदै तत्काल सत्यतथ्य पत्ता लगाइ दोषीलाई कानुनी कठघरामा ल्याउन माग गरेका छन् । उक्त रकम चैत २४ गते वडा सचिब सरिता रावत र वडाका सहायक कर्मचारी रामकुमार गिरिले नुवाकोट बट्टारस्थित हिमालय बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनी ५३ लाख ३१ हजार ८ सय रुपैंयाँ झिकेर लगेको र करिब ४ः३० बजेतिर वडा कार्यालयको सेफ बक्समा राखेर कार्यालय बन्द गरेपछि रातिको समयमा रकम चोरी भएको बताइएको छ । चोरी भएको प्रकृति हेर्दा ताला फोरेको नभइ साँचोको प्रयोग गरी ताला खोलिएको पाइएको थियो । त्यसपछि घट्ना रहस्यमय बन्दै गएको हो ।

प्रतिक्रिया