माओवादीलाई संसद्कै चिन्ता

विदुर खबर २०७८ वैशाख १ गते ८:१५

नुवाकोट । सरकारको चर्को आलोचना गर्ने माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

Advertisement

समर्थन फिर्ता लिन प्रधानमन्त्री ओलीले चुनौती नै दिए पनि नयाँ सत्ता समीकरणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी तयार नहुँदा माओवादीले भने समर्थन फिर्ता लिन सकेको छैन ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिने घोषणा गरे पनि औपचारिकरूपमा फिर्ता लिन सकेको छैन । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्रीले एक महिनाभित्र संसद्मा विश्वासको मत लिनुपर्ने हुन्छ । संसद्मा ठूलो दलको हैसियतमा रहनुभएका प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा संवैधानिक व्यवस्थाअनुसार नै वैकल्पिक सरकार गठन हुन नसक्ने अवस्थामा पुनः संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले निर्वाचनको घोषणा गर्न सक्ने त्रास माओवादी केन्द्रलाई रहेको छ ।

Advertisement

माओवादी केन्द्रका नेता हरिबोल गजुरेल नयाँ सरकार गठन गर्नका लागि अविश्वासको प्रस्ताव संसद्मा जाने वातावरण नभएसम्म समर्थन फिर्ता लिएर मात्र अर्थ नहुने बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘हामीले यो सरकारको विकल्प खोजिरहेका छाै‌, कांग्रेस तयार भए पनि जसपा अझै तयार भइसकेको छैन, यो सरकारलाई हटाउने अवस्था भएपछि मात्र समर्थन फिर्ता लिन्छौं ।’

ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको कांग्रेसले सरकार गठनका लागि माओवादी र जसपासँग छलफल गरेको छ । कांग्रेसलाई माओवादीले समर्थन गर्ने बताए पनि जसपाले अझै कुनै जवाफ दिएको छैन । कांग्रेसका सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व गर्नका लागि पार्टीभित्रबाटै दबाब रहेको छ । तर, जसपाको समर्थनबिना सरकारको नेतृत्व कांग्रेसका लागि सहज छैन । अर्कोतर्फ जसपाले भने सकेसम्म आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गृहकार्य अगाडि बढाएको छ । तर, जसपाभित्र पनि दुई समूह हुँदा सरकारको नेतृत्व गर्ने सवालमा विभाजित छ ।

Advertisement

जसपाका नेता महेन्द्र राय यादवले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीलाई समर्थन गर्न नसक्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘नयाँ सरकार गठनको विषयमा छलफल शुरु भएको छ, सकेसम्म जसपाकै नेतृत्वमा सरकार गठन गर्ने तयारीमा लागेका छौं ।’यता प्रधानमन्त्री केपी शर्मा जसपाका अध्यक्ष महन्त ठाकुर र नेता राजेन्द्र महतो पक्षको साथ पाउनेमा ढुक्क देखिनुभएको छ ।

जसका कारण प्रधानमन्त्री ओलीले माओवादीले समर्थन फिर्ता लिए पनि सरकारले विश्वासको मत लिने दाबी गर्दै आउनुभएको छ ।संसद्को कार्यकाल अझै दुई वर्ष बाँकी छ । तर, प्रधानमन्त्री ओली समयअगावै निर्वाचन गराउने सुरमा हुनुहुन्छ । संसद्को बैठकलाई प्रभावकारी बनाउन सरकारले ध्यान दिन नसकेको र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूमिका खेल्न नसकिरहेका बेला संसद् बचाउने चिन्ता भने केवल माओवादी केन्द्रलाई छ ।

प्रतिक्रिया