काठमाडौंका सार्वजनिक यातायातमा अब मास्क अनिवार्य

विदुर खबर २०७७ चैत १४ गते ११:३०

नुवाकोट । काठमाडौंमा संचालनमा हुने सार्वजनिक यातायातमा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने भएको छ।

Advertisement

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदूरहरुबिच भएको छलफलमा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायातमा मास्क अनिवार्य गर्ने निर्णय भएको हो। मास्क नलगाई यात्रा गर्ने यात्रुलाई कारबाही गर्ने निर्णय भएको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ ।

भारतमा कोभिड संक्रमण जोखिमको बढ्दै गएको र नेपालमा पनि संक्रमण बढ्ने सक्ने अवस्था रहेको भन्दै क्षेत्रमा कडाई गरिने भएको छ।

Advertisement

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने निर्णय भएको बताए।

सार्वजनिक यातायात क्षेत्रमा आजैदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमता अनुसार यात्रुहरु राख्ने, भौतिक दुरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुनपानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, चनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको पनि पराजुलीले बताए।

Advertisement

कोभिड संक्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ।

प्रतिक्रिया