कोरोनाविरुद्धको खोप अभियान स्थगित

विदुर खबर २०७७ चैत ४ गते १८:३१

नुवाकोट । सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियान हालका लागि स्थगित गरेको छ ।

Advertisement

स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको (आईसीएस) बैठकले खोप उपलब्ध नहुञ्जेलका लागि खोप अभियान स्थगित गर्ने निर्णय गरेको हो । बुधवारदेखि ५५ वर्षमाथिका नागरिकलाई खोप दिने कार्यक्रम रहेकोमा खोप उपलब्ध नहुञ्जेलका लागि स्थगित गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले खोप उपलब्ध हुनासाथ सूचना दिएर अभियान सुरु गर्ने बताउनुभयो ।

अग्रिम भुक्तानी गरेको खोप आधा मात्रै आएको र कोभ्याक्स सुविधाको खोप पनि लक्ष्यअनुसार नआएको तथा खोप आउने सुनिश्चित नभएपछि अहिलेलाई खोप अभियान स्थगित गर्ने निर्णयमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

गएकाे माघ १४ गतेदेखि सुरु भएको खोप अभियान विभिन्न चरणमा गरी मङ्गलवार (हिजो) सम्म चलेको थियो । अभियानअन्तर्गत हालसम्म १६ लाख ४४ हजार पाँच सय ५८ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अभियानमा स्वास्थ्यकर्मी, सफाइकर्मी, शव व्यवस्थापक, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार, जनप्रतिनिधि, अग्रभागमा काम गर्ने कर्मचारी, ६५ वर्षमाथिका नागरिक लगायतले खोप लगाएका छन् ।

Advertisement

यसैबीच खोप अभियानको पहिलो चरणअन्तर्गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएकालाई दोस्राे मात्रा खोप आउँदो वैशाख ७ गतेदेखि ११ गतेसम्म दिने निर्णय गरेको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो ।

दोस्राे चरणअन्तर्गत फागुन २३ गतेदेखि हिजोसम्म खोप लगाएकालाई दाेस्राे मात्रा खोप दिने मिति भने खोप प्राप्त भएपछि मात्र तय गर्ने उहाँले जानकारी दिनुभयो ।   

प्रतिक्रिया