दिल्लीमा कोठी चलाउने नुवाकोटको एक महिला पक्राउ

विदुर खबर २०७७ चैत ४ गते ६:३२

नुवाकोट । आमाको मृत्युलगत्तै बाबुले अर्को बिहे गरेपछि काभ्रेकी १५ वर्षीया माया (नाम परिवर्तन) ले बौद्धस्थित एक गार्मेन्ट फ्याक्ट्रीमा काम थालेकी थिइन् ।

Advertisement

थोरै तलब र धेरै कामको चापले आत्तिएका बेला उनलाई एक चिनेजानेकै मान्छेले चितवनको एउटा साहूको घरमा काम मिलाइदिने आश्वासन दिए । तिनै मान्छेको साथ लागेर चितवन जान हिँडेकी मायालाई बेहोस पारेर दिल्ली पुर्‍याएपछि उनका नारकीय जीवन सुरु भयो ।

प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोमा मायाले दिएको जाहेरीअनुसार ती मान्छेले उनलाई नयाँदिल्लीको मजनुका टिलास्थित घरमा पुर्‍याएका थिए । घरवाली सीता र चमेलीवाई पनि भनिने रुकमाया तामाङले आफूलाई कोठीमा लगेर जबर्जस्ती यौन धन्दामा लगाएको व्यहोरा मायाले जाहेरीमा उल्लेख गरेकी छन् । उनका अनुसार ६ महिनाभन्दा बढी त्यस्तो काममा संलग्न गराएपछि सीताले उनलाई नेहा तामाङ सञ्चालक रहेको अर्को कोठीमा बेचिदिएकी थिइन् । नयाँ कोठीमा छँदा प्रहरीले छापा मारेपछि उनको उद्धार भएको थियो ।

Advertisement

ब्युरोका अनुसार दिल्लीस्थित महिला आयोग, क्राइम ब्रान्च र रेस्क्यु फाउन्डेसन नामक गैरसरकारी संस्थाले संयुक्त रूपमा कोठीबाट मायासहित १२ भन्दा धेरैको उद्धार गरेको थियो । उद्धारपछि नेपाल फर्केर मायाले गत माघ १५ गते ब्युरोमा जाहेरी दर्ता गरेकी थिइन् । मायालाई नेपाल फर्किने दिनसम्म पनि आफूलाई कोठीमा यौनधन्दा गराउन बाध्य पार्ने सीताबारे विस्तृत सूचना थिएन । एक दिन उनले लुकेर खिचेको सीताको एउटा फोटो र उनको गाउँको नाम पाङ्गर भन्ने थाहा थियो । उनले ब्युरोमा जाहेरी दिँदा यही सूचना टिपाइन् ।

यति सूचनाको भरमा सीताको खोजी गर्नु प्रहरीका लागि सजिलो काम थिएन । पाङ्गर गाउँ कुन जिल्लामा पर्छ भनेर पत्ता लगाउन प्रहरीलाई केही समय लाग्यो । प्रहरीले नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर २ मा पाङ्गर भन्ने ठाउँ रहेको पत्तो पाएपछि त्यहाँ अनुसन्धान केन्द्रित गर्‍यो । ब्युरोले नुवाकोटमा ९ वर्ष काम गरीवरी सरुवा भएर ब्युरो आएका एक जना हवल्दारलाई अनुसन्धानका लागि सोही गाउमाँ खटायो । ती हवल्दारले स्थानीय सूचनादातासँग ती महिलाको फोटो देखाउँदै खोजीनिती थाले । काकाको छोरा बितेपछिको मृत्यु संस्कार घेवामा सहभागी हुन सीता नुवाकोट आएको सूचना पाएपछि प्रहरीले उनको गतिविधि नियाल्यो । गत २३ गते कालो र नीलो रङको बा २ च १४०० नम्बरको पजेरो चढेर गाउँबाट सदरमुकाम आउँदै गर्दा उनलाई पक्राउ गर्‍यो ।

Advertisement

पक्राउपछिको प्रारम्भिक बयानमा ६२ वर्षीय सीताले आफू पनि माया जसरी नै बेचबिखनमा परेको र त्यसपछि दिल्ली बस्न थालेको बताइन् । उनले माया ६ महिना आफूकहाँ बसेको बताए पनि आफूले कोठी सञ्चालन नगरेको बयान दिएकी छन् । तर अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने उनी कोठी सञ्चालक रहेका अन्य प्रमाणहरू पनि भेटिएको बताएका छन् ।

पहिलो श्रीमतीबाट ५ छोरी जन्मिएपछि दोस्रो श्रीमतीका रूपमा गएको र आफूबाट कुनै सन्तान नभएको बताउने सीताले दिल्ली बसाइको अन्य आधार पुष्टि गर्न सकेकी छैनन् । प्रहरीले भने अनुसन्धानका क्रममा उनको बैंक खातामा कमाइको आधार पुष्टि हुन नसक्ने रकम देखिएको, उनको सम्र्पकको दायरा पनि फराकिलो रहेको भन्दै पहिलो पटक सात दिन र दोस्रो पटक पनि सात दिन नै जिल्ला अदालतबाट म्याद थप गरेर थुनामा राख्दै अनुसन्धान गरिरहेको छ ।

ब्युरोकी प्रमुख एसएसपी दुर्गा सिंहले उनले दिल्लीको कोठीमा अरू नेपाली महिलालाई पनि बेचेको हुन सक्ने आधारहरू देखिएको बताइन् । ‘सीतासँग सम्बन्धित र कोही बेचिएर फर्किएका पीडितहरू छन् भने उनीहरूले ब्युरोमा आएर वा फोनबाटै पनि सूचनाहरू दिन सक्छन्,’ उनले भनिन् ।

कान्तिपुर दैनिकबाट

प्रतिक्रिया