जनतालाई हित हुनेगरी कांग्रेसले निर्णय लिन्छ : महामन्त्री कोइराला

विदुर खबर २०७७ फागुन २२ गते ७:०९

नुवाकोट । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टी र जनतालाई हित हुनेगरी कांग्रेसले निर्णय लिने बताउनुभएको छ ।

Advertisement

नेपाल डेमोक्रेटिक लयर्स एशोसियशनले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र नेपाली कांग्रेसको भूमिका’ विषयक विचार गोष्ठीमा उहाँले कांग्रेस संवेदनशील भएर अगाडि बढ्ने बताउनुभएको हो । “कांग्रेस कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकारमा जाँदैन”, उहाँले भन्नुभयो । सर्वोच्च अदालतले संसद् विघटनको विषयमा गरेको फैसला कांग्रेसलाई स्वागतयोग्य भएको उहाँको भनाइ थियो ।

कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले कांग्रेस प्रतिनिधिसभाको निर्वाचन गराउनका लागि सरकारमा जानुपर्ने बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले नेपाल कम्युनिष्ट पार्टी विधिवत रुपमा नफुटेसम्म कांग्रेस सरकारमा जान नहुने बताउनुभयो ।

Advertisement

केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले संविधानले दिएको अधिकारअनुरुप नै कांग्रेस संसद्मा प्रस्तुत हुने बताउनुभयो । कांग्रेस नेता दीपक खड्काले वर्तमान सरकारले लोकतन्त्र र संविधानलाई धरापमा पार्दै लगेको भन्दै यसको रक्षाका लागि कांग्रेस लाग्नुपर्ने उल्लेख गर्नुभयो । कांग्रेस केन्द्रीय सदस्य दीपक गिरी, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, धनराज गुरुङ, एनपी साउदलगायतले नेकपाको आन्तरिक झगडाका कारण मुलुक सङ्कटमा परेको बताउनुभएको थियो ।

एशोसियशनका अध्यक्ष योगेन्द्र अधिकारीले कांग्रेसले सरकारमा जाने वा प्रतिपक्षमा बस्ने भन्नेबारे पार्टीभित्र व्यापक छलफल गरेर उचित निर्णय लिनुपर्ने बताउनुभयो ।

Advertisement

प्रतिक्रिया