फागुन अन्तिमदेखि बन्चरेडाँडामा फोहाेर विसर्जन गर्न सकिने

विदुर खबर २०७७ फागुन २ गते ८:१२

नुवाकोट ।बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिल साइटमा यही फागुन अन्तिम सातादेखि फोहाेर व्यवस्थापन गर्न सकिने भएको छ ।

Advertisement

सहरी विकास मन्त्रालयल र सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबार गरेको स्थलगत अनुगमनका क्रममा निर्माण कम्पनीले यही फागुन अन्तिम सातासम्ममा निर्माणाधीनस्थलमा फोहाेर विसर्जन गर्न सकिने जानकारी दिएको हो ।

पछिल्लो समय निर्माणको कामले गति लिएको भन्दै मन्त्रालयले कामको प्रकृति हेरी फागुन अन्तिमदेखि काठमाडौं उपत्यकाको फोहाेर दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सकिने जनाएको छ । अनुमगनका क्रममा सहरी विकासमन्त्री प्रभु साहले पहिलो चरणको काम तेस्रो सातासम्ममा सक्ने र अन्तिम साताबाट फोहाेर विसर्जन गर्न सक्ने गरी काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । 

Advertisement

सरकारले आवश्यक सबै पूर्वाधार र बजेट व्यवस्थापन गरेकाले अब बहानाबाजी गर्ने छुट कसैलाई नभएको मन्त्री साह बताए । उनले काममा ढिलाइ भए सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई कारबाही गर्ने चेतावनीसमेत दिए ।

‘५० वर्षसम्म उपत्यकावासीलाई ढुक्क’
दीर्घकालीन योजनासहित सरकारले स्यानिटरी ल्यान्डफिल साइट निर्माण गरिरहेको भन्दै सोही मन्त्रालयका राज्यमन्त्री रामवीर मानन्धरले निर्माण सम्पन्नपश्चात् उपत्यकावासीलाई कम्तीमा ५० वर्षका लागि ढुक्क हुने बताए । 

Advertisement

मन्त्री मानन्धरले उपत्यकाको जीवनसँग जोडिएको ल्यान्डफिल साइट निर्माणमा कुनै अवरोध नरहेको पनि प्रस्ट्याए । स्थानीयको केही गुनासो भए सम्बोधन गरिने उनले प्रतिबद्धता जनाए । अहिलेसम्ममा पहिलो चरणको काम ९० प्रतिशत सकिएको छ भने बाँकी कामका लागि पनि कानुनी प्रक्रिया पूरा गरी काम अघि बढाउन गृह मन्त्रालयसँग समन्वय भइरहेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिए ।

हाल निर्माण भइरहेको ल्यान्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्छ । काठमाडौं महानगरपलिकाले केन्द्र सरकारले नै निर्माण गर्नुपर्छ भन्ने माग गरेपछि मन्त्रिपरिषद् बैठकले दीर्घकालीन फोहाेर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णयअनुरुप जिम्मेवारी पाएको हो । यस स्थानमा करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहाेर विसर्जनस्थल निर्माणको हुनेछ ।

बञ्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल साइट निर्माण गर्न २२ वैशाख ०७६ मा एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोसी एन्ड न्यौपाने जेभी (उपक्रम)सँग ठेक्का सम्झौता गरिएको थियो । निर्माणका लागि भ्याटबाहेक ३४ करोड ६८ लाख ७४ हजार आठ सय ९५ मा सम्झौता भएको थियो । निर्णयअनुसार बाँध निर्माणको काम सहरी विकास मन्त्रालयले गर्ने र विसर्जनस्थलसम्म जाने बाटो निर्माण सडक विभागलाई दिएअनुरूप काम सम्पन्न भइसकेको छ । सहरी विकास तथा भवन निर्माण विभागले भने दीर्घकालीन रूपमा फोहाेर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहाेरलाई स्रोतबाट नै पहिचान गर्नुपर्ने जनाएको छ ।

१३ वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाका १८ स्थानीय तहको फोहाेर विसर्जन गरिँदै आएको छ । अव्यवस्थित रूपमा लामो समयदेखि एकै स्थानमा फोहाेर विसर्जन गर्दा समस्या आएपछि स्थानीयवासीले व्यवस्थित रूपमा फोहाेर व्यवस्थापनस्थलको खोजी गर्न आग्रह गर्दै विरोध गर्दै आएका छन् । 

उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहाेर निस्कन्छ । जसमा सबैभन्दा बढी कामपाबाट करिब ६ सय मेट्रिक टन फोहर निस्कने गरेको छ । काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहाेरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाका गरी दुई गाडी फोहाेर लगिने गरिएको छ ।

प्रतिक्रिया