नुवाकोट र रसुवामा भुमि आयोग गठन

विदुर खबर २०७७ माघ २१ गते १०:१८

नुवाकोट । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग नुवाकोट र रसुवा गठन गरेको छ ।

Advertisement

आयोगको नुवाकोटको अध्यक्षमा सुर्यगढीकी विन्दा ढुंगानालाइ नियुक्त गर्ने निर्णय गरेको छ । छिमेकी रसुवाकोे अध्यक्षमा शम्भु गुरुङ चयन भएका छन् । तीन दशकदेखि कम्युनिष्ट राजनीति गरेकी अध्यक्ष ढुंगाना नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य तथा मदन भण्डारी फाउण्डेसन नुवाकोटको अध्यक्ष समेत हुन् भने गत स्थानीय निर्वाचनमा सूर्यगढी गाउँपालिकाको अध्यक्षमा प्रतिस्पर्धा गरेकी थिइन् ।

सरकारले भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२ ख. को उपदफा (६) बमोजिम भूमिसम्बन्धी समस्या समाधान आयोग यसअघि नै गठन गरेको थियो जसको कार्यकाल ३ वर्षको रहेको छ । केन्द्रीय आयोगले नेतृत्व पाएको एक वर्षपछि जिल्लास्थित आयोगले पूर्णता पाएको हो ।

Advertisement

सरकारले आयोग नुवाकोटको सदस्यमा नेकपा नुवाकोटका सचिवालय सदस्यद्धय बलराम आचार्य र नारायण घिमिरेलाई नियुक्त गरेको छ । आचार्य र घिमिरेले नुवाकोटको राजनीतिमा दुइ दशकबढी बिताएका छन ।

आयोगले जिल्लाको भूमि सम्बन्धी समस्या समाधानका लागि महत्वपूर्ण काम गर्ने अपेक्षा गरिएको नेकपा नुवाकोटका अध्यक्ष तथा वागमति प्रदेश सभा सदस्य वद्री मैनालीले वताए । भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीलगायतको सामाजिक न्याय र जीवनस्तर सुधारका लागि भूमिको समन्यायिक वितरण र दिगो व्यवस्थापन जरुरी भएकाले सरकारले आयोग गठन गरेको थियो ।

Advertisement

भूमि नागरिकको खाना, आवास र स्वतन्त्रता जस्ता मौलिक अधिकार प्राप्त गर्न सुनिश्चितताको आधार भए पनि कतिपय भुइँ तहका नागरिकलाई लोकतन्त्रको अनुभूति गराउनुका साथै देशको समग्र आर्थिक तथा सामाजिक उन्नतिका लागि पनि लामो समयदेखिको भूमिसम्बन्धि समस्या निरूपण आवश्यक थियो । भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने, मुक्त कमैया, कमलरी, हरुवा र चरुवा, हलिया, भूमिहीन, सुकुम्बासी पहिचान गरी बसोबासका लागि घर र घडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन वा रोजगारीको व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयमा सो आयोगले काम गर्ने जनाइएको छ ।

उता, भूमि सम्बन्धी समस्या समाधान आयोग रसुवाको अध्यक्षमा शम्भु गुरुङ चयन भएका छन् । मन्त्रिपरिषद् बैठकले आयोगको जिल्ला समिति रसुवाको अध्यक्षमा गुरुङ, सदस्यमा सुस्मा न्यौपाने र सदस्यमा विष्णु पौडेललाई चयन गरेको हो ।

आयोगले भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासी लगायतलाई जग्गा वितरण गर्न गत वर्ष गठित आयोगले विभिन्न नगर तथा पालिकाहरूमा लगत संकलन सुरु गरेको छ । नुवाकोटमा विदुर र वेलकोटगढी नपा र १० गापा गरी १२ स्थानीय तह र रसुवामा पांच गाउंपालिका रहेका छन् ।

प्रतिक्रिया