नुवाकोटमा निर्वाचनको तयारी शुरु

विदुर खबर २०७७ माघ १२ गते १३:२९

नुवाकोट । नुवाकोटमा मध्यावधि निर्वाचनको तयारी थालिएको छ । सरकारले पुस ५ गते सङ्घीय संसद् विघटन गरि आगामी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालयले सक्रियता बढाएको हो ।

Advertisement

मध्यावधि निर्वाचनको तयारी विशेष अन्तर्क्रिरया आयोजना गरेर निर्वाचन कार्यालयले जिल्लाका सबै स्थानीय तहमा आगामी माघ १५ देखि २१ गतेसम्म र जिल्ला सदरमुकाममा माघ १५ देखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने जानकारी दिएको छ ।
जिल्लाका १२ वटै स्थानीय तहमा मतदाता नामावली अद्यावधिक गर्ने, निर्वाचन शिक्षा र सचेतनाका अभियानहरु चलाउने लगायत कार्यक्रम तय गरिएको जिल्ला निर्वाचन अधिकृत राकेश गुरुङले  बताए। उनका अनुसार आगामी माघ १६ र १७ गते दुई दिन प्रत्येक स्थानीय तहको केन्द्रमा आफ्नो नामावली सच्च्याउने, दोहोरो नामावली हटाउने तथा दाबी विरोधका लागि निवेदन दिन सकिनेछ ।

स्थानीय तहको केन्द्रलाई आधार मानेर मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिनेछ । उक्त कार्यक्रममार्फत मतदाताले मतदाता नामावलीमा आफ्नो नाम विवरण हेर्न एवं अद्यावधिक गर्न, मतदाता नामावलीमा भएका दोहोरोपन वा त्रुटि सच्याउने, मतदाता नामावली ऐनले व्यवस्था गरेका कार्यहरु सम्पन्न गरी हालसम्म सङ्कलित मतदाता नामावलीलाई वैधानिकता प्रदान गर्नेछ ।

Advertisement

त्रुटि सच्च्याउने, दोहोरो नाम हटाउने काम सम्पन्न भएपछि निर्वाचन कार्यालयको सर्भरमा विवरण अद्यावधिक गर्ने र त्यसपछि निर्वाचन आयोगमा डाटा एकीकरण गर्ने, दोहोरोे विवरण हटाउने तथा आयोगबाट अन्तिम मतदाता नामावली स्वीकृत गराइएको विवरण आयोगको वेबसाइटमार्फत प्रकाशन गरिने जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय नुवाकोटले सोमबार एक कार्यक्रम आयोजना गरि निर्वाचनको विषयमा जिल्लाका सरोकारवाला निकायहरुसँग समेत छलफल गरेको छ । छलफलको क्रममा सरोकारवालाहरुले निर्वाचनमा उमेर पुगेका व्यक्तिहरुलाई मताधिकार दिनुपर्ने भन्दै निर्वाचन कार्यालयको ध्यानाकर्षण गराएका थिए ।

Advertisement

कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद पन्थी, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्की, जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु तथा सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया