संसद पुनर्स्थापना नै कांग्रेसको लाइन हो : पौडेल

विदुर खबर २०७७ माघ ११ गते १९:४१

नुवाकोट । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा पुनर्स्थापना नै कांग्रेसको लाइन भएको बताएका छन् ।

Advertisement

गुराँस पुस्तकालय विराटनगरले आयोजना गरेको कार्यक्रममा नेता पौडेलले प्रधानमन्त्रीलाई संसद भंग गर्ने अधिकारी नभएको बताए । उनले भने, ‘यो संविधानलाई भत्काउन खोजिँदैछ, हामी दिँदैनौ, संघर्ष गर्छाैं । प्रतिनिधिसभा पुनर्स्थापना गर भन्छौं ।’पौडेल सुरुदेखि नै संसद विघटनको विपक्षमा छन् । तर पार्टी सभापति शेरबहादुर देउवाले चुनावको पक्षमा देखिएका छन् । नेता पौडेलले भने केन्द्रीय कार्यसमितिले संसद विघटनलाई असंवैधानिक भनेकाले त्यही पार्टीको लाइन भएको बताए ।

‘पार्टीभित्र दुई लाइन छ भन्नुहुन्छ साथीहरु । कहाँ छ अर्काे लाइन ? यहीँ लाइन हो कांग्रेसको । कांग्रेस केन्द्रीय समितिले गरेको निर्णय हो यो,’ उनले भने, ‘यही लाइनमा सबै हिड्ने कि नहिड्ने ? यो लाइनमा जो हिँड्दैन, त्यो जान्छ ।’

Advertisement

कांग्रेस आफ्नो सिद्धान्तमा अडिग रहनुपर्ने भन्दै उनले अहिले पार्टी नेतृत्व परीक्षामा रहेको बताए । उनले भने, ‘सारा जनताले हेरिरहेका छन्, बुद्धिजिवीहरुले हेरिरहेका छन्, कांग्रेसले आफ्नो सिद्धान्तमा अडिन्छ कि अडिन्न ?’

प्रतिक्रिया