नगरप्रमुखले सूचना लुकाएको भन्दै विदुर नगरपालिकाका ६ जना वडाध्यक्षले दिए निवेदन

विदुर खबर २०७७ माघ ४ गते २०:३६

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले नगरप्रमुखले सूचना लुकाएको भन्दै सूचनाको हक मार्फत सूचना माग गरेका छन् ।

Advertisement

१३ वटा वडामध्ये नेपाली कांग्रेसबाट विजयी ६ जना वडाध्यक्षहरुले संयुक्त रुपमा सूचनाको हकको प्रयोग गर्दै आफैं सदस्य भएको बैठक र सभामा भएका निर्णय सहितको सूचना माग गर्दै आज नगरपालिका समक्ष निवेदन बुझाएका हुन् । स्थानीय तहमा जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको समय ७ जेठ, २०७४) देखि हालसम्म भएको कार्यपालिका बैठकको निर्णय, अहिलेसम्मको नगरसभाको बैठकको निर्णय सहितको विवरण माग गरिएको वडा नं. ३ का वडाध्यक्ष बद्री रिमालले  जानकारी दिए ।

उनकाअनुसार निवेदनमा नगरभित्र कार्यरत कर्मचारीको विवरण सहित स्वीकृत दरबन्दी, उनीहरुले प्राप्त गर्ने तलबभत्ता उपलब्ध गराउने संस्थाको विवरणसहित चालु आर्थिक वर्षको पुससम्मको  सवारी साधन मर्मत र इन्धन बापतको खर्च विवरण माग गरिएको छ । ‘सूचना माग गर्दै लिखित रुपमा ६ जना वडाध्यक्षहरुले निमित्त प्रमुख प्रशासकीय अधिकृत पूर्णध्वज श्रेष्ठलाई बुझाएका छौ,’ वडा नं. १० का वडाध्यक्ष गणेशकुमार नेपालले भने,। ‘यसअघि मौखिक र लिखित रुपमा बुझाएको सूचना नपाएको कारण पुनः माग गरिएकाले कानून अनुसार नपाए सूचना आयोग समक्ष जान बाध्य हुनेछौं ।’ कार्यपालिका र नगरसभामा भएको बैठकको निर्णयको गलत प्रयोग भएको तथा कर्मचारी नियुक्ति पारदर्शी नभएकोलगायतका कैफियत पाइएकाले सूचना माग्नुपरेको वडाध्यक्ष नेपालले बताए ।

Advertisement

प्रमुख भन्छन्ः आवश्यक थिएन

वडाध्यक्षहरुले जानकारी माग गर्नु जायज भएपनि उनीहरु नै सम्मिलित रहेको बैठकले गरेको निर्णय सूचनाको हक प्रयोग गरेर माग गर्नुलाई त्यस्तो गर्न आवश्यक नभएको नगरप्रमुख सञ्जु पण्डितले बताए । ‘भएका तथा गरिएका निर्णयहरु सबै कार्यान्वयनका लागि वडामा पठाइने भएकाले अहिले सूचना पाइन भनेर निवेदन दिन सस्तो प्रचारबाजी जस्तो लाग्छ,’ पण्डितले भने ।

Advertisement

पालिका खबरबाट साभार ।

प्रतिक्रिया