बागमती प्रदेश सरकारको नेतृत्व गर्न कांग्रेस तयार

विदुर खबर २०७७ पुष २२ गते ९:५३

नुवाकोट । नेकपा केन्द्रको उत्कर्ष विवादले प्रतिनिधिसभा विघटनदेखि पार्टी फुटसम्म पुगेको छ ।

Advertisement

फुटको शृंखला केन्द्रमा मात्र सीमित भएन, प्रदेश सरकारसम्म पुगेको छ ।बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसमेत यो फुटबाट पीडित हुनुहुन्छ । उहाँविरुद्ध प्रचण्ड–माधव नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गराएको छ । १ सय १० सिट रहेको बागमती प्रदेशसभामा नेकपाका ८० सांसद रहे पनि पौडेलविरुद्ध प्रचण्ड–नेपाल समूहका ४६ सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।यस्तोमा ओली पक्षमा ३४ जना मात्र सांसद छन् । तर, विश्वासको मत कायम राख्न पौडेललाई २२ मत आवश्यक पर्छ । प्रदेशसभाको कांग्रेसको २२ मत छ । साझाका तीन र अन्य पाँच सांसद छन् । मुख्यमन्त्री पौडेल र प्रचण्ड–नेपाल समूह दुवै पक्षलाई कांग्रेसको मत नभई नहुने देखिएको छ ।प्रतिनिधिसभा विघटनको तनाव प्रदेशमा पनि पुग्यो ।

यसको प्रत्यक्ष असर बागमती प्रदेशमा पनि देखिएको छ । बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले संसद् विघटन लोकतान्त्रिक मूल्य र मान्यताविरुद्ध भएको बताउनुभएको छ । उहाँले भन्नुभयो– ‘बागमती प्रदेशमा नेपाली कांग्रेस प्रदेशसभामा प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको छ । एक्कासि प्रधानमन्त्रीले संविधानको मर्म र भावनाविपरीत अलोकतान्त्रिक ढंगले प्रतिनिधिसभा विघटनको कदम चाल्नुभयो ।

Advertisement

यो लोकतान्त्रिक मूल्य र मान्यताविपरीत गरेको क्रियाकलाप भएकाले नेपाली कांग्रेस प्रदेशका साथै आम कांग्रेसले घोर आपत्ति र भत्र्सना गरेका छन् ।’नेकपाको केन्द्रकै तनावले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तहसम्म प्रक्रिया अघि बढ्दा प्रतिपक्षी कांग्रेसले आउँदो संसदीय दलको बैठकले यसलाई गम्भीररूपमा लिएर उपयुक्त समयमा उपयुक्त निर्णय दिने नेता बानियाँले बताउनुभयो ।‘प्रदेशमा हामी प्रमुख प्रतिपक्षी हौंं । हाल सत्तापक्षमा आन्तरिक द्वन्द्वका कारण प्रदेशमा आफ्नै पार्टीभित्र अविश्वास प्रस्ताव आएको हो । यो उनीहरूको पार्टीभित्रको आन्तरिक मामिला हो’, उहाँले भन्नुभयो– ‘हालसम्म औपचारिकरूपमा नेकपा फुटेको छैन । नेकपाभित्र आन्तरिक समस्याले अविश्वास प्रस्ताव आएको हो ।

यसमा नेपाली कांग्रेसले प्रदेशसभामा आफ्नो उपस्थिति, भूमिका, जिम्मेवारी प्रभावकारीरूपले निभाउँछ । अब कसरी अगाडि बढ्ने भन्नेमा आउँदो संसदीय दलको बैठकले यसलाई गम्भीररूपमा लिएर उपयुक्त समयमा उपयुक्त निर्णय दिनेछ।’अविश्वास प्रस्तावको पछाडि मुख्यमन्त्रीले प्रतिपक्षी दलका रूपमा आफूसँग छलफल गरिरहेको बानियाँको भनाइ छ । ‘हाम्रो दुवै पक्षसँग छलफल र संवाद चलिरहेको छ । उहाँहरु दुवै पक्षसँग छलफलपछि संसदीय दलको बैठकले उपयुक्त निर्णय लिनेछ’, उहाँले भन्नुभयो– ‘स्वतन्त्ररूपले पार्टीको विधान, विधि, प्रक्रिया, पद्धति मान्ने हो । हामी प्रदेशको स्वतन्त्र संसदीय दल हांै । स्वतन्त्ररूपमा निर्णय गर्न पार्टीको हस्तक्षेप छैन ।

Advertisement

परामर्श र छलफल केन्द्रीय नेतृत्वसँग लिने काम हुन्छ । तर, निर्णय हामी गर्छौं । हाम्रो भूमिका प्रदेश सरकार र संसद्लाई अनिर्णयको बन्दी बनाएर राख्न नदिने हो । सुचारुरूपले प्रदेश सरकार र संसद् चलाउन उपयुक्त निर्णय हामी गर्छौैं ।’नेकपाको आन्तरिक द्वन्द्वको अवस्थामा नेपाली कांग्रेस निर्णायक शक्ति रहँदा सरकारको नेतृत्वमै दाबेदारी रहने बानियाँले दाबी गर्नुभएको छ । ‘प्रतिपक्ष भनेको जहिले पनि वेटिङ गभर्मेन्ट हो । प्रतिपक्ष जहिले पनि सत्तामा जान सक्छ ।

पार्टीले सरकार चलाउनकै लागि राजनीति गर्ने हो । मुलुकमा जनताको शान्ति, समृद्धि र प्रदेशका जनताको प्रगतिका लागि नेपाली कांग्रेसको राजनीति हो । कांग्रेस सरकार चलाउन बनेको पार्टी हो’, उहाँले थप्नुभयो– ‘आवश्यक पर्दा सरकार चलाउने पक्षमा कांग्रेस तयार छ । नेकपा फुटिनसकेको अवस्थामा कांग्रेसको कहाँ स्थान हुन्छ भन्ने कुराको अहिले नै टुंगो छैन । तर, हामी तयार छौं ।’

प्रतिक्रिया