आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु

नेकपाको प्रचण्ड–नेपाल समूह तथा प्रमुख प्रतिपक्ष कांग्रेसलगायतका विपक्षी दलले प्रतिनिधिसभा विघटनको विषयलाई राष्ट्रियसभाको बैठकमा उठाउने तयारी गरेका छन् ।
तर राष्ट्रियसभामा प्रतिनिधिसभा विघटनको विषयमा कुरा उठाउन मिल्ने कि नमिल्ने भन्ने बहस पनि चलिरहेको छ । आज पहिलो दिनको बैठकमा पेस हुने सम्भावित कार्यसूची तयार भएको छ । संसद् सचिवालयका अनुसार बैठकको सुरुमै अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने छ । यस्तै राष्ट्रियसभाका समिति गठनसम्बन्धी आदेश, २०७७ सभाबाट अनुमोदनका लागि पेस हुने कार्यसूची छ ।
यस्तै राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले अधिवेशन सफलताका लागि शुभकामना मन्तव्य राख्नेछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री दयेश त्रिपाठीले औषधि तेस्रो संशोधन, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्य विधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेस गर्नुहुने संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभामा नेकपाका ४९, कांग्रेसका ६ र जनता समाजवादीका ३ सांसद छन् ।
प्रतिक्रिया