कांग्रेसद्वारा देशभर आन्दोलनको घोषणा, पुस १३ गते देशभर प्रदर्शन गर्ने निर्णय

विदुर खबर २०७७ पुष १० गते ८:३९

नुवाकोट । नेपाली कांग्रेसले संसद् विघटनविरुद्ध पुस १३ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ ।

Advertisement

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय लिएको हो । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिकरुपमा संसद् विघटन गरेकाले विरोध प्रदर्शन कार्यक्रम घोषणा गरिएको बताउनुभयो । संसद् विघटनपछि कांग्रेसले अलमलमा पर्न नहुने केन्द्रीय सदस्यहरुको सुझावको आधारमा बैठकले सरकारको विरुद्ध सशक्तरुपमा देशव्यापीरुपमा आन्दोलनमा जाने निर्णय लिएको छ ।

कांग्रेस वरिष्ठ नेता पौडल पक्षको तत्काल सडक संघर्षमा जानुपर्ने दबाबमा सभापति शेरबहादुर देउवा सहमत हुँदै आन्दोलनको घोषणा गरिएको बताइएको छ । बिहीबार बिहान बसेको पौडेल पक्षीय केन्द्रीय सदस्यको भेलाले पार्टीलाई सडक संघर्षमा उतार्नुपर्ने निष्कर्ष निकाल्दै सोहीअनुसार बैठकमा प्रस्तुत भएको थियो ।

Advertisement

यसैबीच जनता समाजवादी पार्टीले संसद् विघटन नभएको भन्दै बैठक आह्वान गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । बिहीबार जसपाका नेताहरुले सभामुख सापकोटालाई भेटी प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार संविधानले नदिएको र संसद् जीवित रहेको भन्दै बैठक आह्वान गर्न आग्रह गरेका हुन् ।

जनता समाजवादीका नेता लक्ष्मणलाल कर्णले आफ्नो पार्टीले सभामुखलाई सार्वभौम संसद् बोलाउन आग्रह गरेको बताउनुभयो । उहाँका अनुसार जवाफमा सभामुख सापकोटाले सबै दलसँग आफ्नो भूमिकाबारे छलफल गर्ने बताउनुभएको थियो । सभामुखलाई भेट्न जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव सिंहदबार जानुभएको थियो ।

Advertisement

प्रतिक्रिया