निर्वाचनमा जुट्न प्रधानमन्त्री ओलीको आह्वान

विदुर खबर २०७७ पुष ७ गते ८:२७

नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीमा जुट्न देशबासीलाई आह्वान गर्नुभएको छ ।

Advertisement

उहाँले निर्वाचन हुने विषयमा कुनै आशंका नगर्न अपिल गर्दै निर्वाचनको तयारीमा जुट्न आह्वान गर्नुभएको हो । संसद् विघटन भएपछि सोमबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनादेश र जनभावनाविपरीत राष्ट्रिय राजनीतिलाई अन्त्यहीन एवं अर्थहीन विवादमा अल्झाएर गतिरोध सिर्जना गरिएपछि आफ्नो सामु सार्वभौम जनतासमक्ष जानुको विकल्प नरहेको बताउनुभएको छ ।

सतहमा हेर्दा हिजो विकसित घटनाक्रम अप्रत्यासित र आकस्मिकजस्तो देखिए तापनि यो परिस्थिति लामो समयदेखि राष्ट्रिय राजनीति र मूलतः सत्तारूढ नेकपाका केही नेताका असंगत, विकृत र जनअपेक्षाविपरीतका गतिविधिद्वारा सिर्जना भएको उहाँले बताउनुभयो ।

Advertisement

‘पाँच वर्षको सरकारको नेतृत्वपछि सुयोग्य नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्ने र महाधिवेशनद्वारा पार्टीको कार्यकारी जिम्मेवारीबाट अवकाश लिने घोषणासमेत गरें । मुलुकको जटिल अवस्थामा नियमित महाधिवेशन हुन नसक्ने हो भने पनि विशेष महाधिवेशन गरेर अध्यक्ष पद हस्तान्तरण गर्न इच्छा गरें र योजना प्रस्तुत गरें । तर महाधिवेशनका लागि साथीहरुले ४ महिना पनि कुर्न सक्नुभएन । उल्टै मेरो राजनीतिक चरित्र हत्या गर्ने गरी अत्यन्त लाञ्छित र अपमानित गर्दै आरोप–पत्र पेस गर्नुभयो।’ –सम्बोधनका क्रममा उहाँले भन्नुभयो ।

‘भित्रभित्रै प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारीलाई अगाडि बढाउनुका साथै पार्टी अध्यक्ष एवं संसदीय दलका नेतालाई थाहै नदिई संसद् अधिवेशन बोलाउन हस्ताक्षर संकलन गर्नु संविधानविपरीत, पार्टी प्रणाली र पद्धतिमाथि नै गम्भीर आघात पुर्‍याउने काम हो।’ –उहाँले भन्नुभयो । ‘लोकतन्त्रमा सत्तापक्षले जनताको आदेशअनुसार काम गर्छ, प्रतिपक्षले नियन्त्रण र सन्तुलनको भूमिका खेल्छ । तर हामीकहाँ सत्तापक्षका कतिपय साथीहरु नै प्रतिपक्षभन्दा बढी आक्रामक, असहयोगी र षड्यन्त्रपूर्ण गतिविधिमा संलग्न हुने विडम्बनापूर्ण अवस्था सिर्जना भयो’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘आजको स्थिति विकसित हुनुमा कतिपय नेताहरुको गतिविधिको मुख्य जिम्मेवारी रहेको तथ्यलाई हेक्का राख्नुपर्छ । यस्तो काम कुनै पनि अर्थमा लोकतान्त्रिक हुन सक्दैन ।’ जनअनुमोदित नेकपाको यस सरकारलाई आफ्नै दलका नेताहरुले काम गर्न नदिने र दलभित्रको कचिंगलले प्रतिनिधिसभालाई पनि शिकार बनाउने अवस्था अन्त्य गर्न आफू नयाँ जनादेशका लागि सार्वभौम जनतासमक्ष जाने निष्कर्षमा पुगेको उहाँले बताउनुभयो ।

Advertisement

प्रतिक्रिया