कांग्रेस जिल्ला सभापतिहरुलाई निर्देशन

विदुर खबर २०७७ मंसिर १८ गते ९:२८
नुवाकोट । नेपाली कांग्रेसले पार्टीको आगामी १४औं महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको विवरण यही मङ्सिरभित्रै केन्द्रमा पठाउन जिल्ला सभापतिलाई निर्देशन दिएको छ ।यही बुधबार गरिएको निर्देशनमा कांग्रेसको गत कात्तिक २८ गतेको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरणसम्बन्धी विवरण केन्द्रमा पठाउन भनिएको छ । जिल्ला कार्यसमितिले केन्द्रको परिपत्रको सबै प्रक्रिया पूरा गरेर नामावली सूची प्रकाशन गरी विधानबमोजिम आवश्यक कागजात र तोकिएअनुसारको शुल्कसहित मङ्सिरभित्र अनिवार्यरुपमा केन्द्रमा पठाउनुपर्नेछ, निर्देशनमा भनिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

कांग्रेसको नेतृत्व चयनमा महत्वपूर्ण भूमिका रहने क्रियाशील सदस्यता संख्या हाल करिब ५ लाख रहेको जनाइएको छ । कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार क्रियाशील सदस्यता वितरण र नवीकरण तथा अन्य पार्टीबाट प्रवेश गरेकालाई समेत प्रदान गर्दा सो संख्या दोब्बर हुने पार्टी कार्यालयले जनाएको छ ।

Advertisement

नेकाको १४औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म निर्धारण गरी सोहीअनुसार कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

 

Advertisement

प्रतिक्रिया