कछुवा गतिमा मध्यपहाडी लोकमार्ग, १३ वर्षमा आधा पनि सकिएन काम

विदुर खबर २०७७ मंसिर ९ गते १०:२१

काठमाडौं।  मध्यपहाडको लाइफ लाइन मानिएको  मध्यपहाडी लोकमार्ग आयोजना लक्षित अवधिभन्दा पाँच वर्ष पछाडि मात्रै सम्पन्न हुने भएको छ ।

Advertisement

पाँचथरको चियो भन्ज्याङदेखि बैतडीको झुलाघाटसम्म कुल कुल १८७९ किलोमिटर लामो यस सडक आयोजनाका विभिन्न खण्ड हेर्दै आएका इन्जिनियरहरुले दिएको जानकारीअनुसार यसको निर्माण पूरा हुने अवधि कम्तिमा पनि पाँच वर्ष पछाडि धकेलिने निश्चत छ ।

२०६४ सालबाटै सुरु भएको आयोजनाको १३ वर्ष बित्दा लक्ष्यको ५० प्रतिशत पनि काम सकिएको छैन । मध्यपहाडी लोकमार्ग आयोजना निर्देशनालयले दिएको जानकारी अनुसार अहिलेसम्म यसको भौतिक प्रगति जम्मा ४८.९४ प्रतिशत छ । आयोजनाका लागि छुट्याइएको बजेट समेत राम्ररी खर्च हुन सकेको देखिँदैन । निर्देशनालयका अनुसार यसको वित्तीय प्रगति जम्मा ५३.२४ प्रतिशत छ।

Advertisement

यस लोकमार्गको कुल लम्बाइमध्ये जम्मा ४८.६१ प्रतिशत (९१३.३ किमी) खण्ड मात्र कालोपत्रे भएको छ । त्यसमा पनि मध्यपहाडी लोकमार्ग आयोजनाले ४५१ किमी मात्र कालोपत्र गरेको हो । त्योभन्दा लामो खण्ड  (४६२ किमी) अन्य आयोजनाबाटै कालोपत्रे भएको छ । यसका बाबजुद पनि आयोजनाको निर्माण झन्डै डेढ दशकमा आधा पनि सकिएको छैन ।

यसै पनि सुस्त गतिमा रहेको मध्यपहाडी लोकमार्ग निर्माणको काम पछिल्लो समय कोभिड-१९ ले केही महिना कामै ठप्प हुँदा झन् पछाडि धकेलिएको हो । कोभिडकै बीच लोकमार्गको काम पुनः सुरु गरिएको भए पनि यो अझै फुल फ्लेजमा अघि बढ्न सकेको छैन।

Advertisement

अहिले आयोजनाको केही खण्डमा मात्रै काम भइरहेको छ । ती खण्डमा पनि अत्यन्तै धिमा गति रहेको पाइएको छ । यसका बाबजुद काम भने नरोकिएको मध्यपहाडी लोकमार्ग आयोजना निर्देशनालयका इन्जिनियर सुरज अधिकारी बताउँछन् । कोरोनाका कारण असर परे पनि काम जारी रहेको ‍उनको दाबी छ।

‘कोरोनाले गर्दा आयोजनामा ठूलो असर परेको छ ।  चैत-वैशाख असफाल्टको काम हुने मुख्य सिजनमा नै काम हुन पाएन। एउटा ड्राइ सिजन खेर गयो,’ उनले भने । यसका बाबजुद कोरोना कहर नभएको भए पनि २०८० सालमा यो लोकमार्ग पूरा गर्ने लक्ष्य भने पूरा हुने सम्भावना नै नरहेको र कोरोनाले आयोजना थप पछाडि धकेलेको उनले बताए ।

प्रतिक्रिया