बिभिन्न जिल्लामा हिमपात, जनजीवन प्रभावित

विदुर खबर २०७७ मंसिर २ गते ९:३६

नुवाकोट । हिमाली र उच्च पहाडी जिल्लाका बिभिन्न स्थानमा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन पनि प्रभावित भएको छ ।

Advertisement

हुम्ला, डोल्पा, मुस्ताङ र उत्तरी गोरखामा हिउँ परेको छ । लुम्बिनी प्रदेशमा पर्ने पूर्वी रुकुमको दुले भन्ने स्थानमा पनि हिमपात भएको त्यहाँ रहेका दाङका पत्रकार कुलदीप न्यौपानेले जानकारी दिएका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुने जनाएको छ ।

Advertisement

हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा वर्षा तथा हिमपात भइरहेको छ ।

उपल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीमा झर्यो

Advertisement

मुस्ताङका जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, छोसेर, कोरला, छोनुप, समजुङ, चुमजुङ, नाम्डो, चराङ, मराङलगायत बस्तीमा हिमपात भएको छ ।

हिमपातसँगै खोला, पँधेरा र धारामा पानी जमेको छ । राष्ट्रिय समाचार समिति (रासस)का अनुसार उपल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीमा झरेको छ । सडकमा सवारी साधन आवतजावत गर्न समस्या भएको छ । हिउँले चरन क्षेत्र पुरिएपछि स्थानीयवासीले पशुचौपायालाई गोठमै बाँधेर राख्न थालेका छन् ।

मनाङको तापक्रम माइनस ८

हिमाली जिल्ला मनाङको माथिल्लो क्षेत्रमा सोमबार दिउँसोबाट हिउँ परेको स्थानीयले बताएका छन् । मनाङ ङिस्याङ गाउँपालिका १ पिसाङका छिरिङ नेस्याङ गुरुङका अनुसार माथिल्लो क्षेत्रमा बढी र तल्लो क्षेत्रमा कम मात्रामा हिउँ परेको छ ।

मनाङ ङिस्याङ गाउँपालिकामा पर्ने हुम्डे, मनाङ, ङावल, घ्यारुलगायतका ठाउँमा हिउँ परेको छ । स्थानीयका अनुसार माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा पनि हिमपात भइरहेको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीका अनुसार सोमबारबाट मनाङमा हिउँ परिरहेको छ । उनका अनुसार माथिल्लो क्षेत्रका केही बस्तीमा करिव दुई फिटसम्म हिउँ जमेको छ । मनाङको तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म झरेको छ ।

उत्तरी गोरखामा पनि हिमपात

मौसम बदलीसँगै उत्तरी गोरखाका ल्हो, सामागाउँ, चुम्चेत, छेकम्पारलगायतका क्षेत्रमा पनि हिमपात भएको छ । सामागाउँका स्थानीयवासी मिङ्मार लामाले हिमपातका कारण माथिल्लो क्षेत्रमा करु र गहुँ लगाउने काम रोकिएको जानकारी दिए ।

 

प्रतिक्रिया