नुवाकोटको तादीखोलामाथि पक्की पुलको शिलान्यास

विदुर खबर २०७७ कार्तिक ३० गते ८:५८

नुवाकोट ।  तादी र दुप्चेश्वर गाउँपालिका जोड्ने पक्की पुलको शिलान्यास गरिएको छ ।

Advertisement

शुक्रबार संघीय सांसद हितबहादुर तामाङ र वाग्मती प्रदेश सरकारका भौतिक तथा पूर्वाधारमन्त्री रामेश्वर फुयालले भूमिपुजन गरी नरिवल फुटाएर शिलान्यास गरे ।

पक्की पुल निर्माणले उत्तरी भेगमा रहेका स्थानीयले यातायात सेवाले काठमाडौंसम्मको दूरीलाई छोट्याउने सांसद् तामाङले बताए । त्यसैगरी कार्यक्रममा वाग्मती प्रदेश उपसभामुख राधिका तामाङले पुल लगायत विकास निर्माणले ग्रामीण भेगका स्थानीयलाई आवतजावत गर्न सहज हुने बताइन् ।

Advertisement

प्रदेशमन्त्री फुयालले दुर्गम क्षेत्रको विकासलाई प्राथमिकताका साथ कार्य गरिरहेको बताए । प्रदेश सरकारको आफ्नो आम्दानी स्रोतबाट पुलको लागि बजेट विनियोजन गरिएको उनले बताए । यो आवमा वागमती प्रदेश १ सय वटा पुल र सडक बनाइरहेका उनले बताए ।

वाग्मती प्रदेशले यो आवमा १० अर्ब बराबरको पुल र सडकमा रकम विनियोजन गरेको छ । वाग्मती प्रदेशले गाउँपालिकाको केन्द्र जोड्ने सडकहरु निर्माण गरिरहेको छ । पूर्वाधार विकास कार्यालय र सडक डिभिजनले नगर्ने फरक खालका विकास निर्माणका काम गरिरहेको छ । शिलान्यास कार्यक्रममा प्रदेश सांसद बद्री मैनाली, हिरानाथ खतिवडा लगायतको उपस्थिति थियो ।

Advertisement

तादीखोलामाथि निर्माण हुने पुल तादी गाउँपालिका ४ र दुप्चेश्वर गाउँपालिका ५ वडा जोड्छ । दुप्चेश्वर गाउँपालिका ५ का स्थानीय रणबहादुर शाहीले पुल निर्माण भएपछि लिखु गाउँपालिकाको ढिकुरे हुँदै घुमेर काठमाडौं जानपर्ने बाध्यता हट्ने बताए । उक्त पुल निर्माणपछि भ्याङ्ले, मानेभन्ज्याङ, आरुखर्क, टोड्के, घलेभन्ज्याङ, भद्रुटार, शिवालय, सुनखानी, गुर्जेभन्ज्याङ हुँदै राजधानी काठमाडौंसम्म स्थानीयलाई सुविधा पुग्ने छ ।

पुलको लम्बाई ६५ मिटर लामो छ । पुलको ठेक्का तथा डिजाइन केएम जयविष्णु निर्माण सेवा काठमाडौंले लिएको छ । पुलको सम्झौता ०७६ असोजमा भएको छ भने निर्माण सम्पन्न ०७८ साल चैतको दास्रो साता सकिने लक्ष्य छ । पुलको लागत भ्याटसहित ९ करोड १३ लाख रुपैयाँ रहेको छ । सदरमुकाम विदुरदेखि ३५ किमि उत्तरी भेगमा रहेको छ । शिलान्यास कार्यक्रम वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव संजीव बरालको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया