मंसिर ९ गतेबाट हुने कक्षा १२ को परीक्षा तयारी पूरा

विदुर खबर २०७७ कार्तिक २८ गते ९:३६

नुवाकोट । राष्ट्रिय परीक्षा बोर्डको आगामी मंसिर ९ गतेबाट १६ गते हुने कक्षा १२ को परीक्षा तयारी पूरा भएको जनाएको छ ।

Advertisement

परीक्षामा सबैगरी १ सय १५ विषयको जाँच लिइनेछ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले परीक्षार्थीले आफ्नो पायक पर्ने ठाउँबाटै जाँच दिलाउन बोर्डलाई निर्देशन दिएका थिए । तर परीक्षार्थीको उत्तरपुस्तिका क्षेत्रीय बोर्डमा जाँचिने र प्रयोगात्मक परीक्षा दिन सम्बन्धित विद्यालयमै पुग्नु पर्ने भएपछि विद्यार्थी आफूले पढेको विद्यालय नै रोजेका छन् । गत वैशाख ८ गतेबाट हुनुपर्ने कक्षा १२ को परीक्षा कोभिड–१९ का कारण रोकिएको थियो ।

परीक्षाको तयारी पूरा भएको परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए । परीक्षार्थी संख्या ४ लाख ३ हजार १ सय ८० जना रहेका छन् । तीमध्ये १२ हजार ४ सयभन्दा बढी परीक्षार्थीले आफूलाई पायक पर्ने विद्यालयबाट परीक्षा दिन आवेदन दिएको अर्यालले जनाए । ‘सबैभन्दा राम्रो आफू पढेकै विद्यालयबाट जाँच दिनु सहज हुन्छ,’ अर्यालले भने, ‘पायक पर्ने विद्यालय केन्द्रबाट जाँच दिंदा उत्तरपुस्तिका हराउने, हाजिरी, प्राप्तांक, रजिस्ट्रेसन नम्बर, सिम्बोल नम्बरजस्ता पक्षमा गडबडी भएमा विद्यार्थीले दु:ख पाउँछन् । त्यसैले भरसक आफ्नै विद्यालयबाट परीक्षा दिनु उपयुक्त हुन्छ ।’ देशभरि ११ र १२ कक्षा पढाइ हुने ४ हजार १ सय ५ विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) तोकिएको छ ।

Advertisement

‘हामीले कक्षा ११ को आंशिक परीक्षा कलेजमै लियौं,’ ललितपुरका आइन्सटाइन एकेडेमीका प्राज्ञिक संयोजक यामनाथ भण्डारीले भने, ‘कक्षा १२ को नियमित परीक्षार्थीलाई प्रवेशपत्र वितरण गरिसक्यौं । प्राक्टिल परीक्षा दिन कलेजमै आउनु पर्ने भयो । त्यसैले उपत्यका बाहिर रहेका अधिकांश विद्यार्थी प्रवेशपत्र लिएर गए पनि फेरि आफ्नै कलेजमा आउने भएका छन् ।’ परीक्षाका निम्ति होम सेन्टरको ‘सिट प्लानिङ’समेत गरिसकेको उनले जनाए ।

बोर्डले ‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को विद्यार्थी मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरणसम्बन्धी कार्यविधि, २०७७’ जारी गरेको छ । त्यसअनुसार यो पटक पढेकै विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । सम्बन्धित विद्यालयको प्रधानाध्यापक परीक्षा केन्द्रको केन्द्राध्यक्ष रहन्छ । उपत्यका बाहिर वा टाढा रहेका परीक्षार्थीले सक्कल प्रवेशपत्र लिएर आफू नजिकको विद्यालयको परीक्षा केन्द्रबाट जाँच दिन पाउँने व्यवस्था छ । ती परीक्षार्थीको उत्तरपुस्तिका बोर्डको सम्बन्धित कार्यालयमार्फत जाँचिने छ ।

कान्तिपुर दैनिकबाट ।
Advertisement

प्रतिक्रिया