कोरोनाको कारण बन्द विद्यालय खोल्ने तयारी

विदुर खबर २०७७ कार्तिक २५ गते ८:५२

नुवाकोट । कोभिड–१९ का कारण बन्द रहेका शिक्षालय सञ्चालन गर्न सक्ने अधिकार स्थानीय तहको तोकिएको छ । संक्रमणको अवस्था हेरी विद्यालय खोल्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यढाँचा तयार गरेको छ ।

Advertisement

कार्यढाँचाअनुसार स्थानीय तहको समन्वयमा विद्यालय व्यवस्थापन समितिको सिफारिसमा विद्यालय खोल्न सक्ने गरी कार्यढाँचा तयार गरेको छ । यसअघि शिक्षा तथा मानवस्रोत विकास केन्द्रले तयार गरेको कार्यढाँचालाई मन्त्रालयले छलफल गरी पुनः संशोधन गर्न शुरु गरेको छ ।असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दिएको थियो । सोहीअनुसार अवस्था हेरेर विद्यालय खोल्न सक्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले संक्रमण नभएका, कम भएका र बढी भएका क्षेत्रका विद्यालयको अवस्थाबारे अध्ययन गरी खोल्ने निर्णय स्थानीय तहले पाइसकेको जानकारी गराउनुभयो । त्यसका लागि मन्त्रालयले कार्यढाँचा तयार गरिरहेको उहाँले बताउनुभयो । मन्त्रालयले शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन, अभिभावक महासंघ, हिसानलगायत सरोकारवाला निकायसँग छलफल गरी कार्यढाँचा तयार गरेको हो । कोभिड–१९ का कारण गएको चैतदेखि शिक्षालय बन्द छन् ।

Advertisement

लामो समयदेखि विद्यालय बन्द गर्दा शैक्षिकसत्रमा समेत असर पर्ने भएपछि मंसिर अन्त्यदेखि विद्यालय खोल्ने वातावरण तयार गर्न कार्यढाँचा तयार गरेको हो । मन्त्रालयले कार्यढाँचा स्वीकृत गरेपछि सोही आधारमा सबै मापदण्ड पालना गरी शिक्षालय खोल्नेछन् । लामो समयदेखि विद्यालय बन्द गर्दा शैक्षिकसत्रमा समेत असर पर्ने भएपछि मंसिर अन्त्यदेखि विद्यालय खोल्ने वातावरण तयार गर्न कार्यढाँचा तयार गरेको हो । मन्त्रालयले कार्यढाँचा स्वीकृत गरेपछि सोही आधारमा सबै मापदण्ड पालना गरी शिक्षालय खोल्न सक्नेछन् ।

सरकारले वैशाख १ गतेबाट गणना हुने गरी शैक्षिकसत्र लागू गरेको छ । सोहीअनुसार सबै विद्यालयले अनलाइन कक्षा शुरु गरेका छन् । मन्त्रालयका प्रवक्ता शर्माले विद्यार्थीलाई स्वास्थ्य मापदण्ड पूरा गरी भौतिकरुपमा विद्यालयमै उपस्थित हुने व्यवस्था गर्न कार्यढाँचा तयार गरेको जानकारी गराउनुभयो । कार्यढाँचामा स्वास्थ्य र सुरक्षाको प्रत्याभूति गराउँदै बालबालिकालाई विद्यालय जान मानसिकरूपमा तयार पार्नुपर्ने जिम्मा स्थानीय तहलाई दिइएको छ ।

Advertisement

सुरक्षाका लागि फर्निचर, शौचालय, पर्याप्त प्रकाश र हावा आवतजावत गर्न सक्ने कक्षाकोठालगायतका पूर्वाधार, स्वास्थ्य तथा सरसफाइका लागि साबुन, पानी, सेनिटाइजर तथा विद्यालयमा आउनेहरूका लागि तापक्रम लिने व्यवस्था गर्ने र भौतिक दूरी मिलाई बस्ने, शिक्षक, अनिवार्य मास्क लगाउने र खाजा व्यवस्थापन गर्नेलगायतका विषयवस्तु समावेश छ ।

त्यस्तै विद्यालय जाँदा, विद्यालयमा रहँदा वा घर फर्कंदा एवं घरमा पुगेपछि पालना गर्नुपर्ने नियमहरू तयार गर्ने उल्लेख छ । त्यसको अनुमगन गर्ने जिम्मा पनि स्थानीय तहलाई दिइएको छ । शैक्षिक सत्रको व्यवस्थापन गर्न विद्यालयले संक्रमणकालीन वार्षिक कार्यतालिका वार्षिक शैक्षिक योजना तयार गर्ने, प्रदेश शिक्षा तालिम केन्द्रले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम बालबालिकाले सिकेका सिकाइहरूको स्तर निर्धारण गर्न र सोहीअनुसार बालबालिकालाई सिकाइमा सहजीकरण गर्न शिक्षकलाई आवश्यक तालिम र अभिमुखीकरण गराउने, शिक्षकलाई अभिमुखीकण गराउने उल्लेख छ ।

विद्यालय खोल्नु १५ दिनअघि विद्यार्थीलाई जानकारी गराउने, विद्यालयमा निर्मलीकरण गर्ने, बालबालिका, शिक्षक तथा विद्यालय कर्मचारीहरूमा स्वास्थ्यसम्बन्धी कुनै समस्या आएमा वा कोभिड–१९ का लक्षणसँग मिल्दा जुल्दा लक्षणहरू देखापरेमा तत्काल अभिभावक वा घरपरिवारलाई जानकारी गराउने, महामारीको जोखिममा रहेका बालबालिकालाई नजिकको स्वास्थ्य केन्द्रमा जँचाएपछि मात्र विद्यालयमा आउने गरी पहिले नै सूचित गर्ने र विद्यालयमा ज्वरो परीक्षण गर्ने व्यवस्था गर्ने कार्यढाँचामा उल्लेख छ ।

प्रअ, शिक्षक, अभिभावक, कर्मचारी, चिकित्सक, मनोसामाजिक परामर्शदाता, अस्पताल, एम्बुलेन्सको सम्पर्क नम्बरसहितको विवरण राख्ने, भविष्यमा संक्रमण, महामारी वा अन्य कुनै कारणवश हुन सक्ने सम्भावित विद्यालय बन्दका सम्बन्धमा मानसिकरूपमा तयार रहने गरी सचेतीकरण गर्ने, अपाङ्गता भएका बालबालिकाका अभिभावकलाई परामर्श दिने व्यवस्था मिलाउनुपर्नेछ ।

प्रतिक्रिया