वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा ४४ हजारले कमी, प्रमुख रोजाइमा कतार

विदुर खबर २०७५ साउन ३ गते २:१५

विभाग भन्छ– गिरावट आउनुको मुख्य कारण स्थायी सरकार

काठमाडौं– आर्थिक वर्ष २०७४/०७५ मा कामको खोजीमा ६ लाखभन्दा बढी युवा  विदेशिएका छन्। गत आर्थिक वर्षमा ५ लाख ७९ हजार ७ सय २१ पुरुष र ३२ हजार ९ सय ६४ महिला गरी ६ लाख १२ हजार ६ सय ८५ जना नेपाली कामदार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ।

संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत ३ लाख २३ हजार ८ सय ७६ जना, संस्थागत रुपमा नयाँ श्रम स्वीकृति लिने ८ हजार ९ सय ६, व्यक्तिगत श्रम स्वीकृतिमार्फत २१ हजार ३ सय तथा व्यक्तिगत रुपमा पुनः श्रमस्वीकृति लिएर २ लाख ५८ हजार ६ सय ३ जना पछिल्लो एक वर्षमा विदेशिएको विभागको प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वर्ष २०७३/०७४ मा संस्थागत र व्यक्तिगत गरी ६ लाख ५६ हजार ८ सय विदेशिएका थिए। यस आँकडालाई आधार मान्दा गत आर्थिक वर्षमा ४४ हजार १ सय १५ कम कामदार विदेशिएको विभागले जनाएको छ। २०७३/०७४ को भन्दा गत अर्थिक वर्ष रोजगारीको खोजीमा विदेशिने महिलाको संख्यामा पनि गिरावट आएको छ। गत वर्ष ३७ हजार महिला वैदेशिक रोजगारीमा गएका थिए। आर्थिक वर्ष २०७३/०७४ तुलनामा गत आर्थिक वर्षमा विदेशिने महिलाको संख्यामा पनि झन्डै ५ हजारले कमी आएको छ।

वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा गिरावट आउनुको प्रमुख कारण गत जेठ ३ गतेदेखि मलेसिया जान नयाँ श्रमस्विकृति नदिने सरकारको निर्णय प्रमुख रहेको विभागको बुझाई छ।

वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा सन्तुलन नै देखिएको विभागका प्रवक्ता उद्धवराज रिजालले बताए। ‘पछिल्लो समय देशमा स्थायी सरकार भएकोले विदेशिनेको संख्यामा गिरावट आएको हो। रोजगारीबाट फर्किएका युवाले देशमा केही पेशा गर्न सुरु गरेका छन्। यसका कारण पनि विदेशिनेको संख्या घटेको हो।’, रिजालले भने।

देशअनुसार नेपाली कामदार पलायनको अवस्था हेर्ने हो भने यो वर्ष सबैभन्दा धेरै कामदार कामको खोजीमा कतार पुगेका छन्। कतारपछि नेपाली युवाको प्रमुख रोजाइमा क्रमशः मलेसिया, युएई र साउदी अरब परेको विभागको प्रतिवेदनमा उल्लेख छ।

विभागको प्रतिवेदनअनुसार कतारमा १ लाख ८३ हजार ५ सय ४२ जना, मलेसियामा १ लाख ३७ हजार ३ सय ११ जना, युएईमा १ लाख १४ हजार ९ सय ४१ जना, साउदी अरबमा १ लाख ८ हजार ४ सय १४, कुवेतमा २७ हजार १ सय ४९ जना, बहराइनमा ८ हजार ४ सय ५४ जना, ओमानमा ५ हजार ७ सय १३ जना र जोर्डनमा २ हजार १ सय ४ जना नेपाली कामदार पुगेका छन्। विदेशिने कुल युवामध्ये ८० प्रतिशतको रोजाइमा यी देशहरु पर्ने गरेको विभागको प्रतिवेदनमा जनाइएको छ।

आर्थिक वर्ष २०७४/०७५ मा जापान, पोर्चुगल, पोल्याण्ड, नर्वे, क्यानडा, ब्रुनाई हङकङलगायतका देशमा व्यक्तिगत भिसामा जाने कामदारको संख्यामा भने वृद्धि भएको छ।

पछिल्लो समय मलेसिया र खाडीको विकल्पमा युवाले युरोपलगायतका देशमा रोजगारीमा जाने क्रम बढ्दै गएको छ।

म्यानपावरविरुद्ध २१ सयभन्दा बढी उजुरी

आर्थिक वर्ष २०७४/०७५ मा रोजगार पीडितले म्यानपावर कम्पनीका नाममा २ हजार १ सय २९ वटा उजुरी दर्ता गराएका छन्।

रोजगारीका क्रममा म्यानपावरले ठगेको अथवा बढी रकम असुलेको भन्दै पीडितले १ अर्ब ५१ करोड २० लाख ६१ हजार २ सय ५५ रुपैयाँ विगो दावीसहित उजुरी गरेको विभागले जनाएको छ। जसमध्ये हालसम्म २० करोड १९ लाख ९४ हजार ८ सय रुपैयाँ विगो रकम पीडितलाई फिर्ता गराएको विभागले जनाएको छ।

प्रतिक्रिया