तुइन विस्थापन गर्दै बागमती प्रदेश सरकार

विदुर खबर २०७७ कार्तिक १५ गते २०:१५

नुवाकोट । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुँयालले प्रदेशका विभिन्न जिल्लामा बाँकी रहेका पुराना तुइन विस्थापन गरी यसै आर्थिक वर्षभित्र झोलुङ्गे पुल निर्माण गरिने बताउनुभएको छ ।

Advertisement

सोका लागि मन्त्रालयले प्राविधिक टोली जिल्ला÷जिल्लामा खटाइसकेको र प्रतिवेदन आउन बाँकी रहेको मन्त्री फुँयालले बताउनुभयो । उहाँले आज रासससँग कुरा गर्दै काठमाडौँ उपत्यका बाहेक १० जिल्लाका १६ गाउँपालिकामा रहेका खरको छानालाई पनि मुक्त गरी जस्तापाताको छानो निर्माणको दृढता व्यक्त गर्नुभयो । उहाँले प्रदेशका आठ जिल्लामा परम्परागत २४ राजकुलोको मर्मत गरी सञ्चालनमा ल्याउन सम्बन्धित प्राविधिकले निर्माण कार्य शुरु गरिसकेको पनि जानकारी दिनुभयो ।

मन्त्री फुयाँलले यसै आर्थिक वर्षभित्र १३ जिल्लाका विभिन्न दुर्गम भेगका जनतालाई सुविधा उपलब्ध गराउने गरी करीब सय नयाँ पक्की पुलको निर्माणका लागि सम्बन्धित कार्यालयलाई बजेट उपलब्ध गराइसकेको जानकारी दिनुभयो ।

Advertisement

उहाँले भन्नुभयो, “बागमती प्रदेशको स्थायी राजधानी हेटौंडाबाट सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग आगामी ४ वर्षभित्र सङ्घ र प्रदेश सरकारको संयुक्त लगानीमा निर्माण कार्य सम्पन्न गरी यातायात सेवा सञ्चालन गर्न बोलपत्र आव्हान गरिएको छ । यसका लागि चाँडै सम्झौता गरिनेछ ।”

प्रतिक्रिया