नुवाकोटको बट्टार र कोल्पुटारमा यात्रु सहायता कक्ष स्थापना

विदुर खबर २०७७ कार्तिक ४ गते १०:३३

नुवाकोट । दसैँ, तिहारलाई लक्षित गर्दै नुवाकोट प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

Advertisement

जिल्ला ट्राफिक कार्यालय नुवाकोटले बिहिबार नुवाकोटको बट्टार बजार र बेलकोगढी नगरपालिकाको कोल्पुटारमा यात्रु सहायता कक्ष स्थापना गरेको हो । दसैँ, तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावनालगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख सुरेन्द्र विष्टले बताए ।

‘विजयादशमी, दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै सहायता कक्ष स्थापना गरिएको हो,’ विष्टले भने, ‘भाडामा यात्रु ठगिने, सवारी साधनमा क्षमताभन्दा धेरै यात्रु राख्ने जस्ता कार्य निरुत्साहित गर्न र यात्रुलाई समस्या परेका खण्डमा सहयाता गर्न यात्रु सहायता कक्षले सहयोग गर्नेछ ।’

Advertisement

यात्रु सहायता कक्षमा यातायातका साधन चल्ने समयसम्म प्रहरी रहेर यात्रुहरूलाई सेवा दिने उनले जानकारी दिए । उनका अनुसार आफ्नो यात्राका लागि थाहा नभएको स्थान, भाडा दर, सवारी छुट्ने समयजस्ता कुराहरू यात्रुहरूले सहायता कक्षमा सोध्न सक्नेछन् ।

प्रतिक्रिया