नुवाकोटका ११ स्थानीय तहमा मंसिर १५ मा एकै पटक अस्पताल निर्माणको शिलान्यास हुने

विदुर खबर २०७७ कार्तिक ३ गते २०:४१

नुवाकोट । नुवाकोट जिल्लाको ११ स्थानीय तहमा मंसिर १५ गते एकै पटक अस्पतालको शिलान्यास हुने भएको छ ।

Advertisement

अर्थ र स्वास्थ्य तथा जनसंख्यामन्त्रीको समुपस्थितिमा भएको दुबै मन्त्रालयका अधिकारीको बैठकले मंसिर १५ गते एकै पटक ११ स्थानीय तहमा अस्पताल निर्माणका लागि शिलान्यास गर्ने निर्णय गरेको हो । अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले सोमबार एक विज्ञप्ति प्रकाशन गर्दै आइतबार अर्थमन्त्री विष्णु पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा अर्थमन्त्रालयमा बसेको बैठकले सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने नीति अनुरूप सबै तहमा मंसिर १५ गते एकै पटक अस्पताल शिलान्यास गर्ने निर्णय भएको जानकारी दिएका छन । नुवाकोटको १२ स्थानीय तह मध्ये ११ स्थानीय तहमा अहिलेसम्म ५ बेडको अस्पताल पनि थिएन ।

सरकारले ६४९ स्थानीय तहमा मंसिर १५ गते एकैदिन ५ देखि १५ बेडका अस्पतालको शिलान्यास गर्ने निर्णय भएको हो । अहिलेसम्म ६४९ स्थानीय तहमा एउटा पनि अस्पताल रहेको छैन । यसअघि मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री ढकालले ६४९ स्थानीय तहमा कम्तीमा ५ बेडको अस्पताल निर्माणको निर्णय गरेका थिए ।

Advertisement

बैठकले अस्पतालहरूको ड्रोइङ र डिजाइन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसअघि नै तयार गरी सम्बन्धित स्थानीय तहमा पठाउने छ । बैठकले आइसियु, एचडियू, भेन्टिलेटर लगायतका उपकरण खरिदको प्रक्रिया मन्त्रालयले अघि बढाउने र त्यसका लागि अर्थमन्त्रालयले स्रोतको व्यवस्थापन गर्ने निर्णय पनि भएको छ । साथै आपत्कालीन अवस्थामा प्रयोग हुने औषधिहरूको व्यवस्थापन सहज बनाउन साविकको औषधि एेनमा परिमार्जनका लागि स्वास्थ्यम मन्त्रालयले प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

प्रतिक्रिया