पत्रकार खनाल ५० हजार धरौटीमा रिहा, दुई अझै फरार

बिदुर । उत्तरगया दैनिकका सम्पादक एवं प्रकाशक शिव देबकोटालाई ज्यान मार्ने उद्धेश्यले कुटपिट गरेको अभियोगमा पक्राउ गरेका पत्रकार महासंघका सचिव जगदीश खनाल नुवाकोट जिल्ला अदालतको आदेशबाट बुधबार ५० हजार रुपैयाँ धरौटी बुझाई रिहा भएका छन् ।
घटनामा संलग्न पत्रकार महासंघका अध्यक्ष कपिलदेब खनाल र सदस्य सुजित भण्डारीलाई अदालतले फरार घोषित गरेको छ । गत असोज ५ गते बिदुरस्थित एक होटलमा पत्रकार महासंघको सदस्यता विवाद सम्बन्धी विवादमा सम्पादक देवकोटामाथि पत्रकार महासंघका अध्यक्ष खनालसहितको टोलिले निर्घात कुटपिट गरेको थियो । कुटपिट पछि काठमाडौंस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा देवकोटाको उपचार भएको थियो । त्यस लगतै सम्पादक देवकोटाकोे दाजु शम्भुप्रसाद देवकोटाले महासंघ अध्यक्ष खनाल सहित ३ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ज्यान मार्ने उद्योग गरेको भन्दै जाहेरी दर्ता गराएका थिए ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटले जिल्ला न्यायाधिवक्ताको कार्यालय मार्फत नुवाकोट जिल्ला अदालतमा मंगलवार मुद्दा दर्ता गराएकोमा बुधवार जिल्ला न्यायाधीश उमेशप्रसाद लुईटेलको एकल इजलासले प्रतिवादी जगदिश खनाललाई ५० हजार नगद धरौटी लिएर तारेखमा राख्ने आदेश दिएको छ । घटनामा संलग्न महासंघ अध्यक्ष खनाल र सदस्य भण्डारीलाई फरारको सुचीमा राखी पक्राउ पुर्जी र म्याद आदेश जारी गर्ने आदेश दिएको नुवाकोट जिल्ला अदालतमा श्रेस्तेदार ठाकुरप्रसाद त्रितालले जानकारी दिए ।
यसअघि नुवाकोटमा संचालित क्रसर उद्योगहरुको सम्बन्धमा विवाद उत्पन्न भइरहदा जिल्लाको स्थानीय प्रशासन र स्थानीय तहहरुका बीच समस्या उत्पन्न भएपछि जिल्ला समन्वय समितिको पहलमा गत असोज ५ गते विदुर स्थित एक होटलमा समन्वयात्मक बैठक आयोजना गरिएको थियो । सोही कार्यक्रममा महासंघ अध्यक्ष खनाल अवैधानिक क्रसर संचालन गर्ने पक्षमा र सम्पादक देवकोटा विपक्षमा देखिएका थिए ।
यही सन्दर्भमा कार्यक्रम समापन पछि विवाद भएको र सोही क्रममा सम्पादक देवकोटाले पत्रकार महासंघ नुवाकोटले गैरपत्रकारलाई सदस्यता सिफारिस गरेको विषयमा प्रदेश र केन्द्रीय समितिमा उजुरी गरेको सन्दर्भ उठेपछि महासंघ अध्यक्ष खनाल पहिला हातपातमा उत्रिएका थिए ।
प्रतिक्रिया