दुई दिनमा काटियो ४५ अर्बको चेक, रातारात १९ अर्बको भुक्तानी

विदुर खबर २०७५ साउन १ गते १:५७

१३ अर्ब राजस्व उठ्नै सकेन

काठमाडौं । वर्षको अन्त्यतिर हुने बजेट खर्चको भयावहस्वरुप यसपल्ट पनि कायमै रह्यो । आर्थिक वर्ष २०७४–७५ सकिँदा वर्षको अन्तिम २ दिनमा मात्रै ४५ अर्ब रुपैयाँ भुक्तानी भएको हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार शनिबार राति १२ बजेपछि सोमबार बेलुका ५ बजेसम्म सरकारी ढुकुटीबाट ४५ अर्ब बराबरको रकम भुक्तानी भएको देखिन्छ ।

त्यसमध्ये आइतबार मात्रै साढे ३३ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको थियो भने सोमबार साँझ ५ बजेसम्मको भुक्तानी १० अर्ब ७८ करोड रुपैयाँ रहेको छ । शनिबार राति अबेरसम्म १० खर्ब २४ अर्ब ९७ करोड रुपैयाँ निकाशा भएकोमा सोमबार साँझ ५ बजेसम्म १० खर्ब ६९ अर्ब २७ करोड रुपैयाँ भुक्तानी भएको छ ।

आर्थिक वर्षको पहिलो केही महिना मासिक २ देखि ३ अर्ब रुपैयाँ मात्र बजेट खर्च हुने गरेपनि अन्तिममा भने दैनिक २० अर्बभन्दा बढी खर्च भएको देखिएको हो । जेठसम्मको तथ्यांकमा करिब साढे ८ खर्ब रुपैयाँ बजेट भुक्तानी भएकोमा असार महिनामा मात्रै २ खर्ब बराबरको चेक काटिएको देखिएको हो ।

बजेट खर्चको विगतको ट्रेन्ड हेर्दा १५–२० प्रतिशत असारमा मात्र भुक्तानी हुन्थ्यो । जेठ मसान्तसम्म ६७ प्रतिशत भएको खर्च असार मसान्तसम्म आइपुग्दा ८३ प्रतिशत कट्नुले सोही प्रवृत्ति दोहोरिएको देखिएको हो ।

यससँगै वर्षको अन्तिममा ठूलो रकम खर्च हुने क्रमले यसपाली पनि निरन्तरता पाएको छ । वर्षको अन्तिममा आएर हुने खर्चलाई जानकारहरुले “असारे विकास”को संज्ञा दिने गरेका छ । बजेट खर्चमा देखिने यो चरम लापरबाही वर्षौदेखिको रोग रहेको उनीहरुको दावी छ ।
यता, कूल सरकारी खर्चले अर्थमन्त्री डा. युवराज खतिवडाले गरेको संशोधित अनुमान नाघेको छ । अर्थमन्त्री खतिवडाले आव २०७५–७६को बजेट विनियोजन गर्ने क्रममा पूर्वसरकारले गरेको विनियोजनको ८१.८ प्रतिशत (१० खर्ब ४६ अर्ब रुपैयाँ) खर्च हुने संशोधित अनुमान गरेकोमा सोमबार साँझसम्म ८३.६ प्रतिशत बजेट भुक्तानी भएको हो । यो रकम अनुमानभन्दा २३ अर्ब रुपैयाँ बढी हो ।

विनियोजन गरिएको बजेटको आधारमा हेर्दा आव २०७४–७५मा भएको भुक्तानी अवस्था भने नाजुक रह्यो ।

महालेखा नियन्त्रका कार्यालयका अनुसार आइतबार साँझसम्म चालूतर्फ ८ खर्ब ३ अर्ब ५३ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिइएकोमा हालसम्म ६ खर्ब ९५ अर्ब ९७ करोड रुपैयाँ खर्च भएको छ । यो लक्ष्यको ८६.६१ प्रतिशत हो । त्यसैगरी पुँजीगततर्फ र वित्तीय व्यवस्थातर्फ वार्षिक लक्ष्यको क्रमशः ७८.७३, ७८.०१ प्रतिशत अर्थात् २ खर्ब ६३ अर्ब ८७ करोड र १ खर्ब ९ अर्ब ४३ करोड रुपैयाँ खर्च भएको छ ।

सरकारले चालू आवमा १२ खर्ब ७९ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको थियो । जसमा चालूतर्फ ८ खर्ब ३ अर्ब, पुँजीगततर्फ ३ खर्ब ३५ अर्ब र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो ।

रातारात काटियो १९ अर्बको चेक

आइतबार साँझ ५ बजेदेखि राति १२ बजेको अवधिमा मात्रै सरकारी ढुकुटीबाट करिब १९ अर्ब रुपैयाँ भुक्तानी भएको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त तथ्यांकअनुसार आइतबार साँझ ५ बजेसम्म १० खर्ब ३९ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएकोमा राति १२ बजेसम्म यस्तो रकम १० खर्ब ५८ अर्ब पुगेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

उठेन १३ अर्ब राजस्व

आर्थिक वर्ष २०७४–७५को अन्तिम दिन ५ बजेसम्म कूल १ खर्ब १७ अर्ब ५ करोड रुपैयाँ राजस्व उठेको छ । यो सरकारले लिएको लक्ष्य ७ खर्ब ३० अर्बमा १३ अर्ब ४ करोड रुपैयाँ अपुग हो ।

आइतबार ५ बजेदेखि राति १२ बजेसम्म उठेको राजस्वको मात्रा हेर्दा लक्ष्यको ४–५ अर्ब कम हुने देखिन्छ । आइतबारसाँझमा मात्र सरकारको ढुकुटीमा राजस्वमार्फत् साढे ७ अर्ब रुपैयाँ थपिएको थियो । बजेट विनियोजनको क्रममा स्रोत सुनिश्चित नभइ धेरै विनियोजन भएर स्रोत समस्यामा परेको अर्थ मन्त्रालयलाई संशोधित अनुमानअनुसार पनि राजस्व नउठ्ने देखिएको हो ।

सरकारले उठाएको कूल ७ अर्ब १७ करोड रुपैयाँ राजस्वमा वैदेशिक अनुदान र गत वर्षको नगद मौज्दात तथा बेरुजु जोड्दा सरकारी ढुकुटीमा वर्षभरी जम्मा भएको कुल रकम ७ खर्ब ४९ अर्ब रुपैयाँ हुन आउँछ ।

प्रतिक्रिया