नुवाकोट प्रशासनमा ब्यापक सुधार

विदुर खबर २०७७ भदौ २६ गते १५:५६

नुवाकोट । आखिर गरे के नहुने रहेछ र ? नेतृत्वमा ईच्छाशक्ति र स्रोत र साधन व्यवस्थापनको तत्परता भएमा नागरिकको मन जित्ने काम गर्न सकिन्छ भन्ने प्रमाणित गरेको छ , जिल्ला प्रशासन कार्यालयमा पछिल्लो समय गरिएका सुधारका कामहरुले ।

Advertisement

‘कुनै समय सरकारी काम कहिले बित्ला घाम’ भन्ने उक्ति सुनेरै प्रशासनमा सेवा लिन जाने सेवाग्राहीहरु अहिले प्रशासन सुधारका कामहरु देखेर चकित मात्र बनेका छैनन, बिना झण्झट समयमै काम सम्पन्न हुँदा राज्य बास्तवमै आफ्नो अभिभावक रहेछ भन्ने अनुभुति समेत गर्न थालेका छन् । नुवाकोटको प्रशासनिक नेतृत्व सम्हालेका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको नेतृत्वमा सुरु भएको प्रशासन सुधारसहितका कोरोना संक्रमण रोकथाम र नियन्त्रण अनि बिपद पूर्वतयारी र न्यूनिकरणका कामहरुले बास्तवमै सुशासनयुक्त राज्य संयन्त्रको अवधारणालाई सार्थक बनाउँदै लगेको छ । नागरिकले तत्लो तहबाटै परिवर्तनको अनुभुति गर्नुपर्छ र सेवाग्राहीलाई कुनैपनि प्रकारको झण्झटमा पार्नुहुन्न भन्ने मनसायका साथ जिल्ला प्रशासन कार्यालयमा सुरु गरिएको सुधारका कामहरु देशैभरका प्रशासनिक संयन्त्रहरुका लागि पनि अनुकरणीय हुनसक्ने त छँदैछ, यसबाट नागरिकले राज्यप्रतिको अपनत्वबोध गर्ने अवस्था बन्दा सिंगो राज्य ब्यवस्था सुदृढ हुने अवस्था समेत निर्माण हुने स्पष्ट छ ।

अहिले जिल्ला प्रशासन कार्यालयलाई बिचौलिया निषेधित क्षेत्र बनाईएको छ । बिगतमा प्रशासनमा सेवा लिन आउनेहरुको निवेदन लेखिदिने र यो वा त्यो वहानामा सेवाग्राहीलाई खर्च गर्न बाध्य बनाउने प्रबृत्तीको अन्त्यका लागि स्थानीय तहहरुबाट सिफारिस लिएर आएकाहरुले छुट्टै निवेदन लेख्न नपर्ने मात्र हैन आवश्यक कागजातहरुको प्रतिलिपी समेत निःशुल्क उपलब्ध हुने ब्यवस्था गरिएको छ । यसैगरी कार्यालयबाट प्रदान हुने सेवा र जिल्ला भरका प्रशासनिक गतिबिधि समेटेर बिद्युतिय सूचनापाटी जडान गरिसकेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले कार्यालय भित्र स्तनपान कक्ष स्थापना गरेर सुत्केरीहरुले सेवा लिन आउँदा उनीहरुले आफ्ना सन्ततीको स्याहारमा उपलब्ध गराउनुपर्ने समयका लागि ब्यवस्थित स्थान समेत उपलब्ध गराएको छ ।

Advertisement

यसैगरी नुवाकोटमा प्रमुख जिल्ला अधिकारीको रुपमा ढकालको आगमन संगै जिल्लाका सबै पक्षहरुसंगको समन्वयको अवस्थालाई सुदृढ बनाउँदै कोरोना संक्रमण रोकथाम र नियन्त्रणको अवस्थालाई प्रभावकारी बनाईँदा जिल्लामा पछिल्लो समय संक्रमणको दर समेत घट्दै गएको छ भने बिपद जोखिम न्यूनिकरणको क्षेत्रमा समेत उल्लेख्य कामहरु समेत गरिएको छ । बिशेष गरेर घ्याङफेदीको नेगीमा चट्टानको जोखिममा रहेकाहरुको स्थानान्तरण अघि जोखिम क्षेत्र मै पुगेर प्रशासनिक नेतृत्वले देखाएको नागरिकको सुरक्षाप्रतिको चासो तथा पहिरोग्रस्त क्षेत्रहरुमा स्थानीयस्तरमै पुगेर पीडितहरुलाई राहत उपलब्ध गराउने प्रबृत्तीले नागरिकहरुमा राज्यप्रतिको बिश्वास समेत अभिबृद्धी गर्दे लगेको छ ।

यतिमात्र हैन,नुवाकोटका प्रमुख जिल्ला अधिकारी ढकालको सूचनामैत्री स्वभावले नुवाकोटका संचारकर्मीहरु समेत लाभान्वित भईरहेका छन् । प्रशासनका हरेक गतिबिधिहरु तत्कालै आफ्नो सामाजिक सञ्जालमा राख्ने प्रमुख जिल्ला अधिकारी ढकालको तत्परताले संचारकर्मीहरुको सूचनामा सहज पहुँच पुगिरहेको मात्र छैन, अनाधिकारीक तथ्यहरु बाहिर जाने समस्याको समेत हल भएको छ । यसैले त नुवाकोट पत्रकार महासंघका उपाध्यक्ष रामहरी न्यौपाने भन्छन, “गरे त धेरै काम सहजै गर्न सकिने रहेछ त, नेतृत्वमा ईच्छाशक्ति भएमात्र नागरिक मैत्री प्रशासनको अवधारण सार्थक बन्छ भन्ने प्रमाणित भईसकेको छ । ”

डिजिटल बोर्ड जडान र आवश्यक सुधारपछिको जिल्ला प्रशासन कार्यालय
Advertisement

प्रतिक्रिया