नुवाकोटको अबैध उत्खनन् प्रकरणः अदालतको आदेश सबैले मान्नुपर्ने नेताहरूको निष्कर्ष

विदुर खबर २०७७ भदौ २३ गते १०:५७

नुवाकोट । नुवाकोटका अबैध रूपमा चलिरहेका क्रसरको विषयले यतिखेर चर्चा पाइरहेको छ । विगतमा कुनै आकर्षक जिल्ला नमानिने नुवाकोटमा पछिल्ला वर्षहरूमा बालुवा र गिटी तस्करी गर्ने समूहले राजनीतिक संरक्षणमा जिल्लामा हुने विभिन्न सरूवामा समेत भूमिका निर्वाह गर्न थालेपछि नुवाकोट आकर्षक जिल्ला बनेको छ ।

Advertisement

कतिसम्म भने नुवाकोटको खोला कब्जा गरेर क्रसर चलाउने व्यापारीहरूले नै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरूवा गराउने हैसित बनाइसकेका छन । क्रसरमा लगानी गरेका राजनीतिक डनहरूले सम्मानित सर्वोच्च अदालतको आदेश समेत लत्याइरहेका छन ।

सर्वोच्च अदालतको आदेश विपरित नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको वर्ड स्टोन क्रसरले जनप्रतिनिधिको संलग्नतामा अबैध उत्खनन् जारी राखेपछि स्थानीयले जिल्ला प्रशासन कार्यालय लगायतमा उजुरी दिएपछि राजनीतिक दलहरूले पनि चासो प्रकट गरेका छन ।

Advertisement

नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले दैनिकीसँग कुरा गर्दै कानुन भन्दा माथि कोही नहुने भन्दै उद्योगी व्यवसायीका लागि उद्योग गर्ने वातावरण तयार गरिदिनुपर्ने र उनीहरूले पनि नियम भित्र रहेर काम गर्नुपर्ने बताए । अदालको आदेशपछि पनि एक दुइ उद्योग चल्ने र धेरै उद्योग बन्द हुनुले राम्रो सन्देश नजाने बताए । नेपाली कांग्रेस कानुन विपरित हुने कुनै पनि काममा साथ  रहन नसक्ने भन्दै को कस्को संलग्नता छ भन्ने विषय आफूलाइ चासो नरहेको बताए । उनले विधि अनुसार सबै उद्योग चल्न दिनुपर्ने र अदालतको आदेशले रोकिएको हो भने त्यस्तो अवस्थामा चोरबाटो प्रयोग गरेर गतिबिधि गर्न नहुने स्पष्ट पारे ।

यस्तै  गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद समेत रहेका युवा नेता बद्री मैनालीले व्यक्ति हेरेर भन्दा पनि प्रवृति हेरेर धारणा बनाउनुपर्ने बताए । उनले नुवाकोटमा गैरकानुनी ढंगले चलिरहेका क्रसरहरूको बारेमा केही कुराहरू सुनिएको भन्दै यतातर्फ प्रशासन र प्रहरीले ध्यान दिनुपर्ने बताए । नेकपा कुनै पनि किसिमको व्यापारको बिरोधमा नरहेको भन्दै कानुन सबैका लागि समान हुनुपर्छ भन्नेमा दृढ रहेको बताए । सांसद मैनालीले अदालत भन्दा माथि कोही नहुने भन्दै अदालतको आदेशहरू सबैले मान्नुपर्ने बताए । उनले कानुनी सर्वोच्चतामा बिधि र पद्धति स्थापित गर्न प्रशासनले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

Advertisement

यसअघि नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले अबैध रूपमा सञ्चालनमा रहेका जिल्लाका सबै क्रसर बन्द हुने बताएका छन । प्रमुख जिल्ला अधिकारी ढकालले वर्ड स्टोनको उजुरी पनि आएको र त्यसमा अनुसन्धान भैरहेको जानकारी दिँदै अबैध रूपमा सञ्चालनमा रहेका सबै क्रसर बन्द हुने जानकारी दिए ।

ढकालले भने ‘हो हाम्रोमा अबैध रूपमा वर्ड स्टोन भन्ने क्रसर चलिरहेको भनेर लिखित रूपमै उजुरी आएको छ । उक्त उजुरीमा सर्वोच्चको आदेशविपरित त्यो सञ्चालन भएको भनिएको छ । त्यससँग सम्बन्धित अदालतको आदेश समेत अध्ययन गरेर । अबैध रूपमा सञ्चालनमा रहेका अरू क्रसर उद्योग छन भने ती पनि कारबाहीको दायरामा आउँछन ।’

नुवाकोट जिल्लाको दुइ नगरपालिका बेलकोटगढी र विदुर एवं लिखु र पञ्चकन्या गाउँपालिकामा जनप्रतनिधिहरूकै सेटिङमा प्राकृितिक स्रोत र साधनको दोहन भैरहेको छ । सर्वोच्च अदालतले नुवाकोटको तादी र त्रिशुली, लिखु, कोल्पु खोला र नदी किनारमा सञ्चालित सबै क्रसर उद्योग अर्को आदेश नहुँदासम्म बन्द गर्न निर्देशन दिएको थियो । तर जनप्रतिनिधि र प्रशासनको मिलेमतोमा केही क्रसरहरू सञ्चालन भैरहेका छन ।

प्रतिक्रिया