बेलकोटगढीकी सुगिष्मा कँडेलको कमाल, भइन् देशभरकै उत्कृष्ट पाठक

विदुर खबर २०७७ भदौ १७ गते १०:४३

नुवाकोट। १३ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा बेलकोटगढी नगरपालिका-१० तादीमा रहेको वरदेवी आधारभुत विद्यालयमा कक्षा ३ मा अध्ययनरत छात्रा सुगिष्मा कँडेल यस वर्षको सर्वोत्कृष्ट पाठक घोषित भएकी छिन्।

कोरोना महामारी र रोकथामका लागि जारी निषेधाज्ञाका कारण यस वर्षको राष्ट्रिय पुस्तकालय दिवस ‘समाज रुपान्तरणका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ भर्चुअलरुपमा मनाइएको थियो । स्वास्थ्य जोखिमका कारण शिक्षालय र पुस्तकालय गत चैत ५ गतेदेखि बन्द रहे तापनि डिजिटल प्रणाली र स्वाध्ययनको क्रम चलिरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन माध्यमबाट यस वर्षको दिवस मनाएको थियो ।

मन्त्रालयका पुस्तकालय शाखाका प्रमुख यादवचन्द्र निरौलाले यस वर्षको सर्वोत्कृष्ट पाठक भएको उनलाई घोषणा गरेका थिए ।कार्यक्रमको अवसरमा आयोजित भर्चुअल समारोहका प्रमुख अतिथी एवं शिक्षा, विज्ञान तथा प्रविध मन्त्री गिरिराजमणि पोखरेलको समुपस्थिति उनीलाई भर्चुअल रुपमै प्रशंसापत्र प्रदान गरिए तापनि उनीलाई कोभिड-१९ को विषम् परिस्थिति सहज भएपछि एक कार्यक्रमका बीचमा प्रमाणपत्र प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

सर्वोत्कृष्ट पाठक घोषित भएकी उनी नुवाकोटको बेलकोटगढी नगरपालिका-१० तादीमा रहेको वरदेवी आधारभुत विद्यालयमा कक्षा ३ मा अध्ययनरत छात्रा हुन् । बन्दाबन्दीको समयमा विद्यालय बन्द हुदाँ पनि विद्यालयको पुस्तकालयकाट पुस्तकहरु लगेर अध्ययन गरी पुस्तकबाट सिकेका ज्ञानगुनका कुराहरु हामीलाई सुनाउने गर्ने गरेकी उनकी बुवा सुरेश कँडेलले बताए। बन्दाबन्दीको समयमा सबै विद्यार्थीहरुले पुस्तक पढ्ने र सिकेका कुरालाइ घरमा सुनाउने र आफ्नो ज्ञान बढाउने कार्य गर्नु पर्ने उनीले बताईन् ।

वरदेवि विद्यालयमा रुम टु रिडले रुडेकसँग सहकार्य गर्दै २०१८ देखि साक्षरता कार्यक्रम मार्फत सहयोग गर्दै आई रहेको छ ।नेपालमा सम्वत् १८६९ साल भाद्र १५ गते पुस्तक चिताइ तहविल नामक पुस्तकालयको स्थापना र सञ्चालन गर्न राजा गीर्वाणयुद्ध वीरवीक्रम शाहदेवले लालमोहर जारी गरेको ऐतिहासिक दिनलाई स्मरण गर्दै सम्वत २०६५ साल भाद्र १५ गते देखि पुस्तकालय दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया