नुवाकोटको शिवपुरीबाहेक ११ स्थानीय तहमा निषेधाज्ञा खुकुलो

विदुर खबर २०७७ भदौ १७ गते ८:५६

नुवाकोट। जिल्लाका शिवपुरी गाउँपालिकाबाहेक ११ स्थानीय तहमा निषेधाज्ञा खुकुलो बनाइएको छ ।

Advertisement

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले खुकुलो बनाएका क्षेत्रमा स्वास्थ्य मापदण्ड पुर्‍याएर पसल, व्यवसायहरु तोकिएका सञ्चालन गर्न दिने निर्णय गरेको हो । तर भीडभाड हुने कार्यक्रम गर्न पाइने छैन ।व्यवसाय सञ्‍चालनको समयमा अनिवार्य रुपमा मास्क प्रयोग गर्ने, दुई मिटरको भौतिक दूरी कायम गर्ने, नियमित रूपमा हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्ने जस्ता स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।

उनका अनुसार रेस्टुरेन्टबाट पकाइएका खानेकुरा बसेर नभई लिएर जाने तर साँझ ७ बजेपछि बन्द गर्न भनिएको छ । जिल्ला प्रवेश गर्न अनुमति प्राप्त भई आएका व्यक्तिहरुलाई स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गराई स्थानीय तहको वडाको समन्वयमा क्वारेन्टीनको रुपमा होटल सञ्चालन गर्न सकिने छ ।

Advertisement

निजी सवारीमा जोर बिजोर प्रणाली

बैठकले निजी सवारी साधनहरु जोर बिजोर प्रणाली लागू गरेको छ । जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन संचालन गर्न भनिएको छ । सवारी बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सञ्‍चालन गर्न समयसीमा तोकिएको छ । यात्रुवाहक सार्वजनिक सवारी साधनहरु (बस, माइक्रो बस, जिप, ट्याक्सी) सञ्‍चालनमा भने अझै रोक लगाएको छ ।

Advertisement

शिवपुरी गाउँपालिका र नाकामा थप ७ दिन निषेधाज्ञा

शिवपुरी गाउँपालिका, काठमाडौ र धादिङसँग नाका जोडिएका क्षेत्रमा कोरोना संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले थप एक साताको निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको मंगलबारको बैठकले भदौ २३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । सिमानाका गुर्जेभन्ज्याङ, पासाङ ल्हामुमार्गको पाँचमाने र धादिङ हुँदै काठमाडौं जाने कोल्पुटार आवतजावत गर्ने नाकामा निषेधाज्ञा थप कडाई गरिने जनाइएको छ ।

पासाङ ल्हामुमार्ग हुँदै जिल्ला प्रवेश गर्ने ककनी गाउँपालिकाको वडा १ र २, बेलकोटगढी नगरपालिकाको वडा २ अन्तर्गत धादिङसँग जोडिएको आचार्य पोखरी हुँदै कुमरी प्रवेश हुने क्षेत्र र वडा ५ अन्तर्गत गल्छी–त्रिशूली–रसुवागढी सडक हुँदै नुवाकोट प्रवेश गर्ने क्षेत्रमा जारी निषेधाज्ञा भदौ २३ गते राति १२ बजेसम्म जारी रहने प्रजिअ ढकालले बताए ।

 

प्रतिक्रिया