शिवपुरी गाउँपालिकामा एक हप्ता निषेधाज्ञा

विदुर खबर २०७७ भदौ १२ गते १६:२९

नुवाकोट  । शिवपुरी गाउँपालिकामा ७ जना कोरोना संक्रमित देखिएपछि फैलिन नदिन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

Advertisement

बिहीबार साँझ ६ बजेदेखि लागू हुने गरी ७ दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । निषेधाज्ञालाई बर्खिलाप भए/गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले चेतावनी दिए ।

निषेधाज्ञाको अवधिमा अत्यावश्यक उपभोग्य वस्तु बिक्री गर्ने खाद्यान्न पसल र औषधि पसलबाहेक सम्पूर्ण पसल, उद्योग, व्यवसाय सञ्चालन गर्न, औषधि उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने जस्ता आवश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन, एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त सवारी साधनबाहेक कुनै प्रकारका सार्वजनिक वा निजी यात्रु तथा मालवाहक सवारी साधन (मोटरसाइकल समेत) सञ्‍चालन समेत रोक लगाइएको छ । खाद्यान्न पसल बिहान ६ देखि १० बजेसम्म मात्र खोल्न पाइनेछ ।

Advertisement

गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन, २०२० को दफा २ अनुसार निषेधाज्ञा जारी भएको जनाइएको छ । यसअघि उक्त गाउँपालिकाको ६ देखि ८ वडा हुँदै काठमाडौं जाने गुर्जेभन्ज्याङ नाकालाई लक्षित गरेर निषेधाज्ञा लगाइएको थियो ।

प्रतिक्रिया