नुवाकोटको भैरवी मन्दिरको पुननिर्माण सकियो

विदुर खबर २०७७ भदौ ९ गते १४:०१

नुवाकोट । भूकम्प गएको ५ वर्ष ५ महिनापछि क्षतिग्रस्त भएको विदुर नगरपालिका–२ स्थित पुरानो सदरमुकाम डाँडामा रहेको लिच्छविकालीन भैरवी मन्दिरको पुनर्निर्माण सकिएको छ ।

Advertisement

विधिपूर्वक धामी हरिमानसिं डंगोलले सोमबार मन्दिरको मुख्य गजुर राख्न लगाएका थिए । कोरोनाका कारण निषेधाज्ञा नहटेकाले काठमाडौंबाट गुभाजु आउन नपाएपछि धामीले गजुर राख्न लगाएका थिए । २०७२ साल वैशाख १२ गतेको भूकम्पले पूर्वीमोडा भत्किएर मन्दिरमा क्षति पुर्‍याएको थियो । क्षतिग्रस्त मन्दिर ०७३ सालबाट पुरातत्व विभागले पुननिर्माण थालेको थियो ।

नुवाकोटको ठूलो शक्ति पीठको रुपमा भैरवीलाई पूजिन्छ । मन्दिर पुनर्निनिर्माण गर्न निर्माण पक्षले भक्तपुरदेखि कालीगढ झिकाएर टुँडाल, काष्ठकलाका मूर्तिहरु र छाना छाउन लगाएका थिए । मन्दिर प्यागोडा शैलीको छ । उक्त मन्दिरको माथिल्लो छाना सुनको जलपयुक्त छ । सुनको जलप लगाउन १ किलो ३० तोला सुन लागेको पुरातत्व मातहत रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुयालले बताए ।

Advertisement

गजुरबाहेक छानोमा सुनको जलप हालिएको छ । ‘काम लाग्ने जति राखेर नयाँ छानो हालिएको छ,’ उनले भने । मन्दिरका टुँडाल र मूर्तिहरु पनि मक्किएकाबाहेक अरु नयाँ निर्माण गरेर राखिएको छ । तल्लो छानो झिँगटी छाइएको छ । समयमा मन्दिर पुनर्निर्माण नभएपछि पटकपटक म्याद थप्दै काम अगाडि बढाइएको थियो । मन्दिर परिसरभित्र ओछ्याइने तेलिय इँटा राख्नबाहेक पुनर्निर्माण सम्पन्न भएको कार्यालय प्रमुख फुयालले बताए । ‘मन्दिर परिसरभित्र छाप्ने साना काम इँटा छाप्ने ४ दिन लाग्ला ।,’ उनले भने, ‘अब मन्दिरको पुनर्निर्माण सकियो ।’ मन्दिर पुनर्निर्माण ४ करोड ६३ लाख रुपैयाँ लागतमा भएको कार्यालयले जनाएको छ ।

पुरानो डिजाइनमा जस्ताको तस्तै मन्दिर निर्माण गरिएको पुरातत्व विभागले जनाएको छ । यो मन्दिर १४ औं शताब्दीमा जगज्योति मल्लले पुननिर्माण गराएको इतिहासमा उल्लेख छ । १८४९ साल असोजमा नेपाल, चीन र तिव्वत युद्ध हुँदा तत्कालीन शासकले भैरवीको पूजाआराधना गरी नेपाल जोगाएपछि मन्दिरको माथिल्लो छाना सुनको जलपयुक्त छाउन लगाएको इतिहासमा उल्लेख छ । मन्दिरभन्दा केहीमाथि डाँडामा रहेको कालिका, मालिका र भैरवी मन्दिरबाट निस्केको अरिँगालले आक्रमणकारी सेनालाई चिलेपछि हार खाएर बेत्रावती सन्धी भएको जनविश्वास छ ।

Advertisement

नुवाकोट विजयी गर्नुपूर्व गोरखाका राजा पृथ्वीनारायण शाहलाई नुवाकोटकी भैरवीसँग शक्ति मागेको र भैरवीले सपनामा मेरो आराधना गरेमा कान्तिपुरअधिनस्थ जितिने बताएको जनविश्वास छ । पूर्वराजा, राज्य सञ्चालकहरु उच्चपदस्थ अधिकारीहरु भैरवीको पूजाआराधना गरी आशिर्वाद लिन आउने गर्छन् ।

प्रतिक्रिया