नुवाकोटमा १० दिनसम्म निषेधाज्ञा जारी,जनजीवन प्रभावित

विदुर खबर २०७७ साउन २५ गते ११:३२

नुवाकोट ।   कोरोना भाइरस (कोभिड १९) को संक्रमित बढेपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लामा शनिबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।

Advertisement

समुदायस्तरमा कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबारको बैठकले शनिबार राति १२ बजेदेखि १० दिनसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।  त्यस क्रममा काठमाडौं आउजाउमा कडाई र प्रभावित स्थानीय तहका क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए । नुवाकोटमा गुर्जेभन्ज्याङ, पासाङ ल्हामुमार्गको त्रिशूली–बालाजु खण्ड र त्रिशूली–गल्छीसहित तीन नाकाबाट ओहोरदोहोर हुन्छन् ।

प्रशासनको आदेशको बर्खिलाप भए/गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रजिअ ढकालले चेतावनी दिए । उनले औषधि उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने जस्ता आवश्यक काममाबाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कन अनुरोध गरे । त्यस्तै एम्बुलेन्स, खाद्यान्‍न, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ, शव वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त साधन भने सञ्‍चालन गर्न पाइने छन् । तर सार्वजनिक वा निजी यात्रु तथा मालवाहक सवारी साधन (मोटरसाइकल समेत) सञ्चालनमा रोक लगाइएको छ ।

Advertisement

खाद्यान्न पसल बिहान ६ देखि १० बजेसम्म मात्र खोल्ने अनुमति दिइएको छ । प्रशासनले स्वास्थ्य संस्था र अत्यावश्यक सेवाका कार्यालयहरुबाहेक बैंक, वित्तीय संस्था, सबै सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालयबाट प्रदान हुने नियमित सेवा संचालन रोक लगाएको छ । जिल्लाका सबै स्थानीय तहमा धार्मिक, सांस्कृतिक, सामाजिक (विवाह, व्रतबन्ध) लगायत कुनै प्रकारको जमघट तथा भेला हुने क्रियाकलापहरुमा रोक लगाएको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्लामा शुक्रबार एकैदिन ८ जना संक्रमित फेला परेका छन् ।

Advertisement

प्रतिक्रिया