सुरुङ बिना सुपर त्रिशूलीको निर्माण, मंसिरदेखि काम थालिने

विदुर खबर २०७७ साउन १८ गते ८:०७

नुवाकोट । नेपालकै पहिलो सुरुङ मार्ग बिनाको जलविद्युत आयोजनाको निर्माण प्रक्रिया सुरु हुने भएको छ।

Advertisement

चितवन र गोरखाको सिमानामा त्रिशूली नदिमा बन्ने १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत आयोजनामा ड्यामको पानी १५ मिटर उचाइबाट ४५ मिटर तल रहने विद्युतगृहमा खसाएर विद्युत उत्पादन गरिने छ।सिभिल र इलेक्ट्रो मेकानिकलतर्फको ठेक्का आह्वान गरेसँगै आगामी मंसिरदेखि भौतिक निर्माण सुरु गरिने आयोजनाको प्रवर्द्धक ब्लु इनर्जी प्रालिका निर्देशक निरञ्जन रेग्मीले बताए। उनका अनुसार यो आयोजनामा अन्यका तुलनामा प्रति मेगावाट ऊर्जा उ्तपादनको लागत निकै सस्तो पर्ने देखिएको छ। आयोजनाले ९ वर्ष अघि सर्वेक्षण अनुमति र २ वर्ष निर्माण अनुमति पाएको थियो।

गत असोजदेखि निर्माण सुरु गर्ने लक्ष्य राखेको आयोजना वित्तीय व्वस्थापन प्रक्रियामा समय लागेकाले ढिला भएको हो। अन्तर्राष्ट्रिय मुद्रा कोषबाट लगानी जुटाउने तयारी थियो। आयोजनाले त्यहाँबाट लगानी जुटाउन नसकेपछि अन्ततः नेपाल इनभेष्टमेन्ट बैंकको नेतृत्वमा नेपालकै बैंकहरूबाट वित्तीय व्वस्थापन गरिसकेको छ।

Advertisement

पछिल्लोपटक गत चैतसम्ममा सबै ठेक्का प्रक्रिया टुंग्याएर निर्माण सुरु गर्ने लक्ष्य तय भएकोमा कोभिड-१९ का कारण काम प्रभावित भएको थियो। आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा ८ वटा बैंकले ११ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरि वित्तीय व्यवस्थापन भएको छ। प्रवर्द्धकका तर्फबाट गरिने २५ प्रतिशत लगानीमा याक एण्ड यती र हायात होटलमा लगानी रहेको सर्राफ ग्रुपले समेत लगानी गरेको छ।

प्रतिक्रिया