नुवाकोटमा फाट्टफुट्ट चल्न थाले सार्वजनिक यातायात

विदुर खबर २०७७ असार ३० गते १५:४४

विदुर । नुवाकोटमा सिमित संख्यामा सार्वजनिक यातायात सञ्चालनमा आउन थालेका छन् ।

Advertisement

राष्ट्रिय यातायात व्यवसायी महासंघले सरकारले तोकेको मापदण्ड अनुसार यातायात सञ्चालन गर्न नसकिने निर्णय गरे पनि केही कम्पनीले भने सेवा दिन थालेका हुन् । लकडाउनका कारण चैत ११ देखि बन्द यातायात क्षेत्र सरकारले ५० प्रतिशत यात्रु राखेर सुरक्षा मापदण्ड अपनाएर ५० प्रतिशतै बढी भाडा लिनसक्ने गरी खुला गरेको थियो । तर महासंघले भने सञ्चालन खर्च नै नउठ्ने भन्दै सेवा शुरु गर्न मानेको छैन । तथापी केही संस्थाले भने सेवा सञ्चालन गरेका छन् ।

आजबाट सिमित संख्यामा माइक्रोबस, मिनिबस तथा ठूला बसहरु नुवाकोटका सडकमा गुड्न थालेका छन् । आज जिल्लामा नगर यातायात र माइक्रो वसले सेवा दिन थालेका छन् । आजबाट जिल्लाका विभिन्न रुटमा ३ यातायात समितिले सेवा सुचारु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख विकल भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार नगर यातायात, पासाङल्हामु यातायात र नेपाल माइक्रोवस कम्पनिले सेवा दिन थालेका छन् । व्यवसायीहरुले सुरक्षा सावधानी अपनाएर यात्रुहरुलाई सेवा दिइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

त्यस्तै विषम परिस्थितिमा जनताको सेवाबाट पछि हट्न नसुहाउने भएकाले सरकारी मापदण्ड अनुसारै सेवा शुरु गरेको यातायात व्यवसायीहरुले जनाएका छन् । यसअघि सरकारले ५० प्रतिशत यात्रु राखेर सुरक्षा मापदण्ड अपनाएर ५० प्रतिशतै बढी भाडा लिनसक्ने गरी खुला गरेको थियो ।

प्रतिक्रिया