विदुर नगरपालिकाका मेयर पण्डितको काम लज्जास्पद र आपत्तिजनक: पत्रकार महासंघ

विदुर । नेपाल पत्रकार महासंघले यहि असार १० गते बुधवार विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले नगरसभामा बोलाएर उल्टै पत्रकारविरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिँदै समाचार संकलनमा रोक लगाएको घटना निन्दनीय र लज्जास्पद भएको भन्दै आपत्ति जनाएको छ ।
पत्रकार महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तीमा विदुर नगरपालिकाको निमन्त्रणामा सातौं नगरसभाको समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीहरुलाई सभा अध्यक्ष तथा नगरपालिकाका प्रमुखले नगरसभाको समाचार संकलन गर्न नमिल्ने भन्दै समाचार संकलनमा रोक लगाउँदै पत्रकारविरुद्ध दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
बट्टारस्थित होटल सताञ्चुलीको सभाहलमा आयोजित विदुर नगरपालिकाको सातौं नगरसभाको निमन्त्रणा पाएपछि समाचार संकलनका लागि सभास्थल पुगेका सञ्चारकर्मीहरुलाई सभामा केही जनप्रतिनिधिहरुले नाराबाजी गरेर सभा अवरुद्ध गरेपछि नगरपालिकाका मेयर सञ्जु पण्डितले ‘पत्रकारका कारण सभा अमर्यादित हुनसक्ने भएकाले ननिस्के जसरी पनि निकाल्ने’ भन्दै नगरसभाको समाचार संकलनमा रोक लगाएका थिए ।
स्थानीय तहको जिम्मेवार निकाय नगरपालिकाका प्रमुखबाट पत्रकारहरुलाई कार्यक्रममा बोलाएर उल्टै पत्रकारविरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिँदै समाचार संकलनमा रोक लगाएको यो घटना आफैंमा निन्दनीय र लज्जास्पद छ विज्ञप्तीमा भनिएको छ । त्यस्तै सो घटनाले संविधानले सुनिश्चत गरेको प्रेसको अधिकारमा आघात पुग्नुका साथै प्रेसको सम्मान र मर्यादमा समेत ठेस पुगेको महासंघले ठहर गरेको छ ।
साथै महासघंले प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध हुने यस्ता कार्य नियन्त्रणमा गम्भीर हुन सम्बन्धित निकायसँग माग समेत गरेको महासचिव रमेश विष्टद्दारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसअघि विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको सो कदमविरुद्द प्रेस युनियन नुवाकोट र नेपाल आदीवासी जनजाती पत्रकार महासंघ फोनिज नुवाकोटले पनि विज्ञप्ती जारी गर्दै नगरपालिकाका मेयर सञ्जु पण्डितको कदम प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको विरोधी भएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिक्रिया