नुवाकोटका १२ वट्टै स्थानिय तहलाई नुवाकोट-समाज दक्षिण कोरियाद्वारा स्वास्थ्य सामग्री वितरण

विदुर खबर २०७७ जेठ २३ गते १८:०२

नुवाकोट । नुवाकोट-समाज दक्षिण कोरियाद्वारा नुवाकोटका १२ वटै स्थानीय तहहरुलाई स्वास्थ्य सामग्री सहयोग स्वरूप उपलब्ध गराएको छ ।

Advertisement

कोरोनाभाइरसको उपचारमा अग्रपंक्तिमा रहेर खट्ने स्वास्थ्यकर्मी र प्रहरीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएकाे नुवाकाेट समाजका बागमती प्रदेशका उपाध्यक्ष यदुकुमार गिरीले बताए । शुक्रबार समाजले विदुरमा आयोजित एक कार्यक्रममा जिल्लास्थित स्थानीय तहका स्वास्थ्य चौकी, जिल्ला अस्पताल, खरानीटार अस्पताल, दुप्चेश्वर स्वास्थ्य चौकी, रेडक्रस नुवाकोट लगायतलाई पिपिइ सेट, डिजिटल इन्फ्रारेड थर्मगन, के-९५ मास्क, पन्जा, स्यानीटाईजर लगायतका सामग्री उपलब्ध गराएको हो ।

जिल्ला समन्वय समिति नुवाकोटको समन्वयमा कोरोनाभाइरस संक्रमितको उपचार र न्यूनीकरणमा अहोरात्र खट्ने व्यक्तिहरुको स्वास्थ्य सुरक्षाको लागि उक्त स्वास्थ्य सामग्री उपलब्ध गराईएको समन्वय प्रमुख सन्तमान तामाङले बताए। स्थानीय तहले बनाएको क्वारेन्टिनमा रहेका व्यक्तिहरुको स्वास्थ्य सुरक्षाको व्यवस्थापनका लागि जनप्रतिनिधिहरु दिनरात खटिरहेको र संक्रमितको संख्या बढ्दै गईरहेको अवस्थामा जनशक्तिको अभाव भएको बताए। जिल्ला विपद व्यवस्थापन समितिले जिल्लास्थित सामुदायिक विद्यालयका शिक्षकहरुलाई स्वयंसेवकको रुपमा खट्नको लागि निर्देशन दिईसकेको हुनाले जिल्लामा कोरोनाभाइरसको संक्रमण अझ फैलन नदिन र न्यूनिकरण गर्ने अभियानमा लाग्न जिसस प्रमुख तामाङले सबै शिक्षकहरुलाई अनुरोध गरेका छन् ।

विपदको समयमा परदेशमा रहेर पनि आफ्नो जन्मथलोमा स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा र बेल्कोटगढी नगरपालिकाका उपप्रमुख कविता ढुंगानाले आभार व्यक्त गर्दै आफु पनि बाचौं अरुलाई पनि बचाऔं भन्ने भावनाले उपलब्ध गराएको स्वास्थ्य सामग्री लक्षित समुदायका व्यक्तिमा पुर्‍याइने र त्यसको अनुगमन पनि गरिने बताए ।

प्रतिक्रिया