चिलिमेको नाफा ३ प्रतिशतले घट्यो

विदुर खबर २०७७ जेठ १५ गते १०:०९
नुवाकोट । चिलिमे हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५२ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
नाफा गत वर्षको भन्दा ३.३१% थोरै हो । गत वर्ष यस कम्पनीले ५४ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले उत्पादन गरेको बिजुली नेपाल विद्युत प्राधिकरणले सबै खरिद नगरेका कारण नाफा प्रभावित भएको चिलिमेको दाबी छ । यस अवधिमा प्राधिकरणले न्यून मात्र विद्युत खरिद गर्दा नाफा प्रभावित भएको कम्पनीको भनाई छ ।  चिलिमेले अधिक विद्युत उत्पादन गरेको तथा प्राधिकरणले भने पूर्वसम्झौता अनुसारको मात्र बिजुली खरिद गरेको कम्पनीको भनाई छ । चिलिमेको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ८० करोड ७५ लाख रुपैयाँबाट थोरै घटेर ८० करोड ३७ लाख रुपैयाँमा झरेको छ । यसैगरी, कम्पनीले तिर्नुपर्ने करको मात्रा पनि बढेको छ । चिलिमेले यसअघि कर छुट पाउँदथ्यो । तर सञ्चालनमा आएको १५ वर्ष पूरा भइसकेकाले तिर्नुपर्ने कर र रोयल्टी बढेको छ ।
हाइड्रोपावर कम्पनीलाई १५ वर्षसम्म कर तथा रोयल्टीमा छुट दिइने प्रावधान छ । यो अवधि पूरा भएपछि कर र रोयल्टी दायित्य वृद्धि हुन जान्छ । यसर्थ, यसपटक चिलिमेले कर बापत १३ करोड ८६ लाख रुपैयाँ खर्च गरेको छ । गत वर्ष यही शीर्षकमा जम्मा ११ करोड ६७ लाख रुपैयाँमात्र खर्च थियो । हाल यस कम्पनीको सेयर पुँजी ५ अर्ब ७० करोड ९७ लाख रुपैयाँ रहेको छ ।
यस्तै, कम्पनीले रिटेन्ड अर्निङ शीर्षकमा ४ अर्ब ७ करोड २७ लाख रुपैयाँ छुट्याएको छ । चिलिमेको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ९६ पैसाले घटेर १२ रुपैयाँ २७ पैसा (वार्षिक) मा झरेको छ । गत वर्ष प्रतिसेयर आम्दानी १५ रुपैयाँ २३ पैसा (वार्षिक) थियो । यसको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ३३ पैसा रहेको छ ।

प्रतिक्रिया