रसुवागढी जलविद्युत आयोजनाको काम ७५ प्रतिशत सकियो

विदुर खबर २०७७ वैशाख १५ गते २१:२३

रसुवा । लकडाउनको समयमा पनि रसुवागढी जलविद्युत् आयोजनाको निर्माण कार्य जारी रहेको छ।

Advertisement

एक सय ११ मेगावाट क्षमता रहेको उक्त आयोजनाको काम रोकिएको छैन। यस आयोजनाको अधिकांश संरचना भूमिगत रहेको छ। अहिले आयोजनामा सिभिलतर्फको काम धमाधम भइरहेको आयोजनाका आयोजना प्रमुख छवि गैह्रेले बताए। निर्माण सामग्रीको अभाव हटाउन सबैसँग समन्वय गर्ने काम भइरहेको उनको भनाइ छ।हाल आयोजनाको बाँधस्थल र डिसेन्डिङ बेसिन (बालुवा थिग्राउने पोखरी) मा कंक्रिट गर्ने काम धमाधम भइरहेको छ। टेलरेस सुरुङ खन्ने काम र कंक्रिट लाइनिङको काम पनि जारी छ। पावरहाउमा पनि काम भइरहेको छ।

इलेक्ट्रोमेकानिकल तर्फको ठेकेदार लकडाउनपछि सम्पूर्ण टिमसहित भारत गएकाले इलेक्ट्रोमेकानिकलको काम प्रभावित भएको प्रमुख गैह्रेले बताए। आयोजनाको सिभिलतर्फको निर्माण चिनियाँ ठेकेदार कम्पनी चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसनले गरिरहेको छ। आयोजनामा चिनियाँ र नेपाली गरी करिब ६ सय कामदार परिचालन भएका छन्। कामदारलाई पूर्ण सुरक्षित तरिकाले खटाइएको आयोजनाको भनाइ छ। केही पनि आयोजनास्थल बाहिर जान पाउँदैनन्। बाहिरको कुनै पनि व्यक्ति आयोजना स्थल छिर्न पाउँदैनन्। उनीहरुलाई मास्क, ग्लोब्स, साबुन, पानी र सेनिटाइजरको व्यवस्था गरिएको छ।

Advertisement

२०७० माघदेखि निर्माण सुरु भएको आयोजनाको काम ७५ प्रतिशतभन्दा बढी सकिएको आयोजनाले जनाएको छ। अहिले लट वानको काम भइरहेको छ। सन् २०२० को फेब्रुवरीमा तीन वटै युनिटबाट विद्युत उत्पादन गर्ने लक्ष्य आयोजनाले राखेको थियो तर लट टुको काम रोकिएकाले तालिका नै प्रभावित हुने सम्भावना बढेको गैह्रेले बताए।

आयोजना गोसाँकुण्ड गाउँपालिका १ र २ को सिमाना टिमुरेभन्दा पारि निर्माण भइरहेको छ। यो आयोजना चिलिमे जलविद्युत कम्पनीको सहायक कम्पनीहरुले निर्माण सुरु गरेका आयोजनामध्ये सबैभन्दा ठूलो निर्माणाधीन आयोजना हो। आयोजनाको कुल लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ। आयोजनाबाट वार्षिक ६१३.८७ गेगावाट विद्युत उत्पादन हुने लक्ष्य राखिएको छ।

Advertisement

प्रतिक्रिया