सान्जेन जलविद्युत आयोजनाको पेनस्टक खन्ने काम सम्पन्न

विदुर खबर २०७७ वैशाख १३ गते १५:३३

रसुवा ।  रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५, चिलिमेमा निर्माण भइरहेको सान्जेन जलविद्युत आयोजनाले पेनस्टक खन्ने काम सम्पन्न गरेको छ ।

लकडाउनको समयमा पनि निरन्तर कामअघि बढाइरहेको आयोजनाले शुक्रबार पेनस्टक खन्ने काम सम्पन्न गरेको हो । ४ सय ४५ मिटर हेड भएको करिब १ हजार मिटर लामो इनक्लाइन्ड पेनस्टकसहितको पेनस्टक खन्ने काम सकिएको छ ।पेनस्टक खन्ने काम सकिएसँगै तुलनात्मक रूपमा आयोजना सम्पन्न गर्न थप सहज हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । ‘आयोजनाको अन्य काममध्ये प्राविधिक र निर्माणका हिसाबले यो सबैभन्दा जटिल काम हो’, उनले भने, यो सकिएसँगै अब केही सहज हुने विस्वास लिएको छु ।’

आयोजनाले एक वर्षभित्रमा विद्युत उत्पादन सुरु गर्ने छ । अहिले आयोजनाको ७८ प्रतिशत काम सकिएको छ । आयोजनाका अनुसार बाँध क्षेत्रका संरचना निर्माणको काम सकिएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार कम्पनीका चिनियाँ प्राविधिक तथा कामदार चीनमै रोकिएका छन् । ४२.५ मेगावट क्षमताको आयोजनामा अहिले इलेक्ट्रोमेकानिलको काम बाहेक अरु काम भइरहेको छ । आयोजनाको निर्माण कार्य २०६९ सालदेखि सुरु भएको थियो । एसइडब्लु टुन्डी जेभीले आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको पाँच चरणमा काम भइरहेको छ । सिभिलमा एसइडब्लु टुन्डी जेभी, इलेक्ट्रोमेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशन कर्पोरेसन, हाइड्रोमेकानिकलमा नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड र प्रसारण लाइन निर्माणमा मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रालिले काम गरिरहेका आयोजनाले जनाएको छ ।

चारवटा ठेकेदारले निर्माण कार्य गरिरहेका छन् । चारवटै ठेकेदारले डिजाइन, आयात, जडान, परीक्षण र कमिसनिङको काम गर्ने छन् । उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको चिलिमे हबमा गएर जोडिने छ ।

आयोजनाहरूबाट विद्युत उत्पादन गर्ने समय नजिकिँदै गएको कारण प्रसारण लाइन निर्माणमा प्राधिकरणले तीव्रता दिएको छ । भूकम्प, नाकाबन्दी, पहिरो र ठेकेदारको लापरबाहीका कारण निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ । यो आयोजना निर्माणका लागि ५ अर्व २ करोड ४२ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।

प्रतिक्रिया