राहत बाँड्न हिँडेका रसुवाका सांसद प्रेम तामाङ प्रहरी हिरासतमा

विदुर खबर २०७६ चैत १७ गते ११:३५

रसुवा। कोरोना विरुद्ध लड्न राहत बाँड्न गाउँ गएका रसुवाका सांसदमाथि रसुवा प्रहरी प्रशासनले रोक लगाएको छ ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिकास्थित बृद्धिमबाट सदरमुकाम धुन्चे फर्कदै गरेका प्रदेश सभा सदस्य प्रेम तामाङलाई आइतबार राति करिब ८ बजे स्याफ्रुबेशी प्रहरीले रोक लगाएको हो ।

हिरासतमा राख्ने माथिको आदेश छ भन्दै स्याफ्रुबेशी प्रहरीले पास थुतेर करिब एक घण्टा हिरासतमा लिएको सांसद तामाङले बताए ।

‘जनताको माग अनुसार मास्क र साबुन पुर्याउन बृद्धिम गएको थिएँ, बृद्धिममा पनि मान्छे जम्मा गरेको थिइन, त्यहाँको वडाध्यक्ष दुईजना वडा सदस्यलाई यो सामान भिडभाड नगरि जनताको घरघरमा पुर्याइदिनुस है भनेर फर्कदै थिएँ’, उनले भने, ‘स्याफ्रुबेशीमा प्रहरीले गाडी रोक्यो, त्यहाँ सेनाको मेजर र प्रहरीको सई थिए । उनीहरुले रोकेर पास दिनुस् भने मैले दिए । अनि केहि समयमा किन पास रोक्नुभएको भन्दा तपाइलाई हिरासतमा राख्ने आदेश छ भन्नुभयो ।’

माथिको आदेश भन्दै प्रह्रीले हिरासतमा लिएपछि सांसद तामाङले जिल्लाको सिडियो अर्जुन भण्डारीलाई फोन गरेको बताए । सुरुमा यस्तो भयो के हो भन्दा सिडियोले ए हो र ! भन्ने कुरा मात्र गरेको र पुनः केहि समयपछि फोन गर्दा फोन नउठाएको सांसद तामाङले बताए ।

उनले भने, ‘मलाई लगभग एक घण्टा प्रहरी चेकपोष्टमा रोकेर राखियो, अन्तिममा सवारी पास चाहिँ उहाँहरुले राख्नुभयो, अनि तपाई जानुस् भनेर मलाई पठाइयो ।’

ज्यालादारी गरेर खाने मान्छे लकडाउनको कारणले गर्दा भोको परेपछि उनीहरुलाई  पेट भर्ने सामान पुर्याउँदा पनि अवरोध कस्को स्वार्थमा गरियो उनले प्रश्न गर्दै भने, दुःखी जनतालाई सेवा गर्न रोकिएर घरमै थुनिएर बस्न पर्ने भो । मैले मेरो जनताको दुःखमा साथ दिन नपाउने भएँ ।’‘दुःखको बेलामा एउटा जनप्रतिनिधिले आफनो मतदाताहरुलाई सहयोग गर्न नदिने यो कस्तो राज्य संयन्त्र हो’ प्रदेश सासंद प्रेम तामाङले रोष प्रकट गर्दै भने, ‘यसमा राजनीति घुसेको छ।’

स्याफ्रुबेशी प्रहरीको हिरासत पछि मुक्त भएका तामाङलाई सदरमुकाम धुन्चेस्थित शसस्त्र प्रहरीले पुन रोकेको थियो।कांग्रेस सांसद मोहन आचार्य र तामाङ्ले सो क्षेत्रमा मास्क, सावुन, सेनिटाइजर र दैनिक ज्यालादारी गरेर हातमुख जोर्ने परिवारलाई खाद्यान्न सहयोग गर्दै आएका थिए। प्रहरीको अवरोधले सो काम रोकिएको छ ।

प्रतिक्रिया