गल्छीस्थित महेशखोलामाथिको पुल जोखिममा,नुवाकोट आवतजावत गर्दा जोखिम बढ्यो

विदुर खबर २०७६ चैत १७ गते ८:०९

धादिङ । धादिङको गल्छीस्थित महेशखोलामाथिको पुलको जग भत्किन थालेपछि नुवाकोट आवतजावत गर्ने यातायात संचालनमा जोखिम बढेको छ ।

Advertisement

उक्त पुल गल्छीबजारदेखि करिब २ सय मिटर टाढा पर्छ । धादिङतर्फ पर्ने पक्की पुलको जग भत्किन थालेपछि भारवाहन गाडी रोक्नुपर्ने अवस्था आएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजना प्रमुख नारायणदत्त भण्डारीले बताए । धादिङको गल्छीगाउँपालिका–७ मा पर्ने पुल २०६२/०६३ सालमा निर्माण भएको हो । जिल्ला ट्राफिक कार्यालय नुवाकोटका अनुसार लकडाउनअघि पुलबाट सानाठूला गरी दैनिक ४ हजार सवारी ओहोरदोहोर गर्थे ।

 

पुलमाथिबाट गाडी गुड्दा पुलको जगमा रहेका पत्रे चट्टान बिस्तारै झर्न थालेपछि जोखिम बढेको हो । ‘ठूला भारवहन क्षमताका गाडी आवतजावन गरेमा जुनसुकै बेला पुल खस्न सक्छ,’ भण्डारीले भने, ‘हलुका सवारीबाहेक अन्यको आवतजावत रोक्नु पर्छ ।’ उक्त स्थानमा सडक आयोजनाले दुईलेनको नयाँ पक्की पुल निर्माण गर्दै छ । तर नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन रोक्न सरकारले लकडाउन गरेपछि पुलको काम अलपत्र छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले पुल जोखिममा रहेको जनाउँदै तत्काल मर्मत गर्न निर्देशन दिइसकेको बताएका छन् । ‘पुल उच्च जोखिममा छ,’ पोखरेलले भने, ‘मर्मत गरी बनाउन आयोजनालाई भनिसकिएको छ ।’ पोखरेल तथा प्राविधिकको टोलीले आइतबार पुलको निरिक्षण गरेको थियो ।

Advertisement

पुल जोखिमा रहेकोले हल्का सवारी बाहेक भारवहन गाडीलाई बैकल्पिक बाटो प्रयोग गर्नुपर्ने योजना प्रमुख भण्डारीले बताए । लकडाउनले कामदारहरु घर गएकाले उनीहरुलाई बोलाएर काममा लगाउनुपर्ने पर्ने उनको भनाइ छ । कामदार आएर काम थालेमा दुई/तीनभित्रमा पुलबाट सवारी ओहोरदोहोर गराउन सकिने भण्डारीको दाबी छ ।

प्रतिक्रिया