बेलकोटगढीको कल्चौडे भीर काटिँदै

विदुर खबर २०७६ चैत ६ गते २०:५४

नुवाकोट ।  सडक विस्तार गर्न राष्ट्रिय गौरवको आयोजनामा परेको गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक आयोजनाले कल्चौडे भीर काट्न थालेको छ ।

Advertisement

 

दैनिक आठ वटा एक्साभेटर र ब्रेकरले निरन्तर उक्त भीर काटिरहेका छन् । भीर आठ सय मिटर लामो छ । ठाउँ–ठाउँमा माटो देखिए पनि भीरमा पुरै चट्टान छ । भीर काट्न थालेपछि त्रिशूली हुँदै गल्छीबाट काठमाडौं जाने सवारीसाधनका लागि त्रिशूली नदी किनारबाट वैकल्पिक अस्थायी सडक बनाइएको छ । सोही सडकबाट सवारी आवतजावत गर्छन् ।

आयोजनाका योजना प्रमुख नारायणदत्त भण्डारीले भीर काट्न डेढ महिना लाग्ने बताए । उक्त भीरबाट पहिला खनिएको सडक साँघुरो थियो । डाडाँमाथिदेखि भीर काट्न समय लागेको र भएभरका मेशिन यही परिचालन गरी काम भइरहेको ठेकेदार कम्पनीका प्रबन्धक गौरीशंकर महतोले बताए । यो भीर काटेपछि बुद्धसिङघाटको भीर काट्नुपर्ने आयोजनाले जनाएको छ । कल्चौडेभन्दा बुद्धसिङघाटको भीर सानो छ । दुवै भीर त्रिशूली नदी वारी छन् । गल्छीदेखि रसुवागढी नाकासम्म ८२ किलोमिटर छ । आयोजनाले तीन खण्डमा विभाजित गरी काम गरिरहेको छ । पहिलो खण्ड गल्छी–मैलुङसम्मको ४६ किमि भित्र यो भीर पर्छ । उक्त सडक खण्डमा आयोजनाले ६० प्रतिशत काम सकिएको छ । पहिलो खण्ड धादिङको गल्छी हुदै नुवाकोटको कोल्पुटार, रातोमाटे, महादेवफाँट, काशीटार, देवीघाट, पीपलटार, गंगटे रहेको छ । यहाँ २० किमि सडक स्तरोन्नति गरेको आयोजनाले जनाएको छ ।

यसैगरी, मैलुङदेखि स्याफ्रुबेंसीसम्मको १९ किमि सडक ठेक्का खुल्ने प्रक्रियामा छ । स्याफ्रुबेंसीदेखि रसुवागढी नाकासम्म १७ किमि चीन सरकारको सहयोगमा निर्माण हुन लागेको छ । उक्त सडक निर्माण गर्न कोरोना भाइरसका कारण चिनियाँ प्राविधिक आउन नपाएको आयोजनाले जनाएको छ । आयोजनाले भनेअनुसार कामको प्रगति हासिल गर्न नसक्नुमा मुआब्जा, विद्युत्का पोल सार्न कठिनाइ र वर्षात्ले गर्दा समस्या भएको जनाएको छ । पीपलटार ढुंगे र गेर्खुखोला बेत्रावती सडकखण्ड मुआब्जाका कारण सर्वोच्च अदालतमा मुद्दा परेपछि काम रोकिन गएको आयोजनाले जनाएको छ ।

मुआब्जा दिनुपर्नेबाहेक अन्य सडक खण्ड आगामी ०७७ जेठ २२ सम्ममा कार्य सक्ने गरी काम भइरहेको छ । आयोजनाले तीन वर्षभित्रमा सबै निर्माण पूरा गर्ने गरी काम अघि बढाइरहेको आयोजनाका योजना प्रमुख भण्डारीले बताए । मैलुङ–स्याफ्रुबेंसी ३० महिना काम सक्ने र स्याफ्रुबेंसी– रसुवागढी ३९ महिनामा काम सकिने लक्ष्य छ ।

प्रतिक्रिया