अन्योलमा खाडीका नेपाली कामदार

विदुर खबर २०७६ चैत २ गते १७:२२

नुवाकोट । संयुक्त अरब इमिरेट्स (यूएई)स्थित अल ऐनमा कार्यरत झापाका गुरू बरालले नेपाल जाने आफ्‍नो योजना केही महिनाका लागि स्थगित गरेका छन् । उनले मार्च १३ मा नेपाल जाने टिकट लिएका थिए ।

Advertisement

घरमा छोराछोरी, श्रीमती र आमाबाबुलाई कोसेली समेत किनिसकेका थिए । तर, कोरोना भाइरसका कारण उनको कम्पनीले उनलाई छुट्टीमा नजान सुझाव दियो । कम्पनीको सुझाव अनुसार उनले छुट्टीको योजनालाई स्थगित गरे ।

स्याङ्जाका लक्ष्मण खनालको आगामी मार्च २३ तारिखको टिकट छ । घर परिवारसँग ४० दिनको वार्षिक बिदा मनाउने उनको योजना नेपाल सरकारले श्रम स्वीकृति प्रदान गर्न रोकेसँगै तुहिएको छ । ४० दिनमा पनि अवस्था सुध्रिएन भने के गर्ने ? यही प्रश्‍न्ले नेपाल जाने कि नजाने भन्‍ने दोधारमा छन् लक्ष्मण । गएर ‘सेल्फ क्वारेन्टाइनमा’ बस्नुपर्ने, अवस्था झनै बिग्रियो भने के गर्ने ? विदेशै भए पनि केही भइहाले नेपालको भन्दा राम्रो उपचार यूएईमा हुनसक्ने विश्वास उनको छ ।
कोरोना भाइरस (कोभिड (१९) को विश्वव्यापी महामारीले अहिले विदेशमा बस्‍ने नेपालीहरू चिन्तित बनेका छन् । कोरोना भाइरसबारे सूचनाको अभाव सो सम्बन्धी ज्ञानको अभाव र सामाजिक सञ्जालमा आएका विभिन्‍न भ्रमपूर्ण भिडियो र समाचारले उनीहरूलाई अझ धेरै मानासिक तनाव दिएको छ ।

मध्यपूर्वका खाडी राष्ट्रहरू पनि अहिले विश्वव्यापी महामारीको चपेटामा परेका छन् । यूएईबाट झण्डै १ सय माइल हवाई दूरीमा रहेको इरान सबैभन्दा बढी आक्रान्त बनेको छ । इरानको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने ११ हजारभन्दा बढी यो भाइरसको संक्रमणमा परेका छन् । पछिल्लो तथ्यांकअनुसार खाडी मुलुकहरूमा सबैभन्दा बढी संक्रमित कतारमा ३ सय २० जनाछन् ।

बहराइनमा १ सय ९५, कुवेतमा १ सय, साउदी अरेबियामा ८६, यूएईमा ८५ र ओमानमा १८ जनालाई संक्रमण भएको ती देशले पुष्टि गरेका छन् । अहिलेसम्म खाडीका ६ राष्ट्रहरूमा ८ सय ४ जनामा संक्रमण देखिएको छ र यो दिनहुँ बढ्ने क्रम जारी छ । कतिपयले योभन्दा बढी संक्रमित हुनसक्ने आशंका समेत गरेका छन् । यूएईमा मात्र अहिलेसम्म २० जना पूर्णरूपमा निको भएर घर फर्केका छन् । अन्य खाडी राष्ट्रमा पनि धेरैले उपचार पाएर घर फर्केका छन् ।

मध्यपूर्वका कुनै पनि मुलुकहरू यसको संक्रमणबाट अछुतो रहेनन् । यसको वृद्धि दरले यस क्षेत्रमा रहेका झण्डै १५ लाख नेपालीमा जोखिम बढेको देखिन्छ । खाडी मुलुकहरूमध्ये हालसम्म यूएईमा नाम नखुलाइएका २ जना नेपालीलाई संक्रमण भएको भनिए पनि अन्य मुलुकमा नेपालीलाई संक्रमण भए, नभएको बारे यकिन जानकारी छैन ।

कुवेतले आफ्नो देशलाई ‘लक डाउन’ गरिसकेको छ । गत सातादेखि नै कतारले अन्तर्राष्ट्रिय उडानहरू बन्द गरेको छ । साउदी अरबले शनिबारदेखि दुई हप्ताको लागि उडान बन्द गर्ने निर्णय गरेको छ । ओमानले उडानहरूको कटौती गर्दै तत्काललाई टुरिस्ट भिसा दिन बन्द गरेको छ ।

यूएईले उच्च जोखिममा रहेका देशहरूसँगको उडान स्थगित गरी आवातजावतलाई कडा गरेको छ । राजधानी अवुधाबीमा बार, क्लबहरू बन्द गरिएका छन् भने हुक्का सेवनलाई पूर्णतः प्रतिबन्ध लगाइएको छ । शारजाहले सार्वजनिक पार्कहरू बन्द गरेको छ ।

यहाँका राज्यहरूले आफ्‍नो कानुन अनुसार कोरोना भाइरसको नियन्त्रणका उपाय अवलम्बन गरेका छन् । कम्पनीहरूले आफ्ना कामदारलाई सुरक्षाका उपाय अपनाउन निर्देशन जारी गरेका छन् । अति जरूरी कामबिना भीडभाड, मल र पार्कहरू नजान, अनावश्यक घुमफिर र अन्तर्राष्ट्रिय यात्रा नगर्न आफ्ना कामदारहरूलाई सुझाएका छन् । विद्यालय र कलेजहरू बन्द गरिएका छन् । विद्यार्थीलाई घरबाटै अनलाइन शिक्षा प्रदान गर्न थालिएको छ । कम्पनीले आफ्‍ना कामदारहरूको शरीरको तापक्रमको रेकर्ड राख्‍न थालेका छन् । छुट्टिबाट फर्किएका कामदारहरूलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्‍न थालेका छन् ।

कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने देखिएसँगै यसले खाडी मुलुकहरूसमेत प्रभावित हुने देखिएको छ । विश्व बजारमा तेलको मूल्यमा भारी गिरावट आएसँगै तेलमा निर्भर रहेका खाडी राष्ट्रको अर्थतन्त्र डगमगाउने देखिन्छ । विश्व नै ‘लकडाउन’ हुने स्थिति पैदा भए यहाँको पर्यटनक्षेत्रलाई ठूलो असर पर्नेछ । यूएईले २०१९ मा २ करोड पर्यटक भित्र्याएको थियो भने २०२० अक्टोबरमा विश्वको सबैभन्दा ठूलो प्रदर्शनी ‘एक्स्पो २०२०’ सुरु हुँदैछ । दुबईमा आयोजना हुने एक्स्पो २०२० ले दुबईको मुहार फेरिने अपेक्षा रखिएको अवस्थामा कोरोना भाइरसको महामारीले सबैलाई चिन्तित तुल्याएको छ ।

सामाजिक सञ्जालमा अनावश्यक भ्रम पैदा नगर्न र सरकारका आधिकारिक सूचनाहरूलाई विश्वास गर्न भनिएको छ । भ्रमपूर्ण समाचारहरू सामाजिक सञ्जालमा सेयर गरिए ३ वर्ष जेलदेखि ३० लाख दिर्हामसम्म जरिवाना गर्ने सूचना यूएई सरकारले जारी गरेको छ ।

खाडी राष्ट्रहरूमा कोरोना भाइरसको प्रकोप बढेसँगै नेपालीहरू चिन्तित बन्‍न थालेका छन् । नेपालका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले राज्यले कोरोना संक्रमितको आशंकामा कसैलाई पनि क्वारेन्टाइनमा राख्‍न नसक्ने भन्ने अभिव्यक्ति दिएपछि उनीहरू झनै चिन्तित बनेका छन् । कथम्कदाचित् भविष्यमा विश्व नै महामारीको चपेटामा परेर नेपाल फर्कनु परेको अवस्थामा आफूहरूको स्थिति के होला भन्ने चिन्ता बढेको छ ।

खाडी राष्ट्रमा रहेका नेपाली दूतावासहरूले आफ्ना नागरिकलाई सजग रहन सूचना जारी गरेका छन् । नेपाली दूतावास अवुधाबीले उच्च सतर्कता अपनाउन व्यक्तिगत सरसफाइमा ध्यान दिन अनुरोध गरेको छ । मार्च १२ मा एक सूचना जारी गरी नेपाली दूतावास अवुधाबीले अनावश्यक रूपमा ठूला जमघट, भेलाको आयोजना नगर्न र भीडभाडबाट टाढा रहन विशेष अनुरोध गरेको छ । उसले नआत्तिन र विशेष सतर्कता अपनाउन अनुरोध गर्दै आफूलाई कोरोना भाइरस लागेको शंका लागेमा यूएई सरकारका विभिन्न निकाय र नेपाली दूतावासलाई जानकारी गराउन समेत भनेको छ ।

त्यसैगरी कतार, साउदी अरब, ओमान, बहराइन, कुवेतलगायत खाडीका सबै राष्ट्रमा रहेका नेपाली दूतावासहरूले नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् । यस्तो अवस्थामा भयभित बन्‍नुभन्दा पनि सतर्कता अपनाउनु नै बुद्धिमानी हुनेछ । सम्बन्धित देशका सरकारले जारी गर्ने सही सूचनाहरूबाट आफूलाई अपडेट गरिरहनु पर्छ । गलत र भ्रमपूर्ण सूचनाहरूको पछि लागेर दुःखी बन्नुभन्दा सरसफाइका उपायअवलम्बन गर्न जरूरी छ । थर्मोमिटर किनेर आफूले आफैंलाई बारम्बार जाँच गरिरहने र शंका लागे तुरून्त नजिकको अस्पताल जानु पर्छ । आफूसँग बस्‍ने कोही साथीलाई संक्रमण भएको शंका लागेमा आफूले पनि होसियारी अपनाउने र साथीलाई पनि उपचारको लागि सहयोग गर्न जरूरी हुन्छ । विश्वमा नै महामारी भइरहेको बेला आफू बसेको राष्ट्रलाई आफूले पनि सकेको सहयोग गर्ने र यसको नियन्त्रण गर्न सहयोग पुर्‍याउने हामी सबैको कर्तव्य हो ।

दूतावासले सूचना जारी गरेपछि हरेक शुक्रबार हुने नेपाली समुदायले गर्ने कार्यक्रमहरू हुन छाडेका छन् । दुबई क्षेत्रमा क्लबहरूमा हुने कार्यक्रमहरू भने यथावत जारी रहेका छन् । शुक्रबार बेलुकीमात्र दुबईमा गायकद्वय नरेन्द्र प्यासी र सुगम पोखरेलका पूर्व निर्धारित सांगीतिक कार्यक्रमहरू यथावत रूपमा भए । सधैँजस्तो भीड रहने दुबईको नेपाली पार्कमा शुक्रबार केही कम नेपालीहरू भेला भए । सपिङ मलहरूमा पनि अन्य दिनहरूभन्दा कम नेपाली जान थालेका छन् ।

परिस्थिति अझ बिग्रदै गए खाडी राष्ट्रहरूको अर्थतन्त्र पनि जोखिममा पर्नेछ । यहाँका कम्पनीहरूको भविष्य र ती कम्पनीमा कार्यरत नेपालीहरूको कामबारे अहिले नै भविष्यवाणी गर्नु हतारो हुनेछ । तर, के अनुमान गर्न सकिन्छ भने यस्तै अवस्था बढ्दै गए निश्चय नै ती कम्पनीहरूले धेरै कामदार कटौती गर्नेछन् । अवस्था नियन्त्रणमा नआए केही कम्पनीले आˆना कामदारहरूलाई एक/दुई महिना बेतलबी विदा दिन सक्ने स्थिति पनि देखिन्छ । यस्तो अवस्थामा नेपाल जान पनि नसकिने र आˆनै खर्चमा कोठामा बस्नुपर्ने भएमा आर्थिक भार पर्नेछ । त्यसैले विदेशमा बस्ने विशेष गरी खाडी मुलुकहरूमा रहेका नेपाली कामदारहरूले अहिलेदेखि नै फजुल खर्चमा कटौती गर्न जरूरी छ ।
कान्तिपुर दैनिकबाट

प्रतिक्रिया