नुवाकोटमा बजार अनुगमन : प्रशासन भन्छ कृत्रिम अभाव गराए कारबाही

विदुर खबर २०७६ चैत १ गते २१:०१

नुवाकोट।  जिल्लामा औषधि र खाद्यान्‍न कृत्रिम अभाव हुन नदिन स्थानीय प्रशासनले बजार अनुगमन गरिरहेको छ ।

Advertisement

कोरोना भाइस (कोभिड १९) सन्‍त्रास फैलिएपछि उपभोक्ताले बजारमा कृत्रिम अभाव बढेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको बजार अनुगमन समितिले अनुगमन थालेको हो। समितिको अगुवाईमा थालिएको अनुगमनमा विदुर नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, नेपाल प्रहरी, उपभोक्ता हित संरक्षण मञ्‍च, सञ्‍चारकर्मी लगायत सामेल थिए।

व्यवसायीलाई पसल व्यवस्थित र नियमसंगत राख्न सुझाव दिँदा पनि कतिपयले हेलचेक्रयाइँ गरेको पाइएको मञ्‍चका अध्यक्ष इन्द्रबहादुर पण्डितले बताए। उपभोक्ताहरुले कोरोना भाइरसले भारतबाट आयात हुने औषधि, नुन र इन्धन ग्यास आवश्यकताभन्दा बढी खरिद गर्ने गरेको पाइएको छ। त्यस्तै मास्क र स्यानीटाइजर अभाव भेटिएको छ। पोलिक्लिनिक, औषधि पसल, खाद्यान्‍न स्टोरमा राखिएका वस्तुहरुको स्टक, उत्पादित वस्तुको उपभोग्य मिति, ती वस्तुहरु राखिएको स्थान, मूल्यसूची लगायत निरीक्षण गरेको छ। अहिले बजारमा इन्धन ग्यास, पेट्रोलियम पदार्थ, चामल, धूलो नुन, तेल, मसला लगायत उपभोग्य वस्तुको मौज्दात रहेको व्यवसायीले बताए।

मास्क र स्यानीटाइजरको अभाव रहेको समिति संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताए। ‘दैनिक उपभोग्य वस्तु अभाव छैन,’ उनले भने,‘यदि कृत्रिम अभाव सिर्जना गरेको पाइए कडा कारबाही गर्छौं।’ समितिले विदुर नगरपालिका १, २, र ४ वडाका मुख्य बजार क्षेत्र बट्टार, पुरानो बजार, ढुंगे र त्रिशूली बजार अनुगमन गरेको छ।

यही बजारबाट ती उपभोग्य वस्तु जिल्लाका १२ वटा स्थानीय तहका गाउँ–गाउँमा निर्यात हुने गर्छ। व्यवसायीले मिति सकिएका उपभोग्य वस्तुहरुको संकलित वस्तुको मुचुल्का उठाई घरेलु तथा साना उद्योग कार्यालय प्रांगणमा नष्ट गरिएको छ।

प्रतिक्रिया