प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज

विदुर खबर २०७६ फागुन ३० गते १९:४३

नुवाकोट । मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी स्वास्थ्य लाभपछि शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्किएका छन् ।

Advertisement

अस्पतालबाट बाहिरिने क्रममा उनलाई चिकित्सकहरुले समाएर गाडीसम्म ल्याएका थिए । गाडी चढ्नुअघि प्रधानमन्त्री ओलीले शुभेच्छुकहरुतर्फ हाँसेर हात हल्लाएका थिए । चिकित्सकहरुका अनुसार बालुवाटार फर्किए पनि प्रधानमन्त्री चिकित्सकको प्रत्यक्ष निगरानीमा हुनेछन् । एक महिनासम्म नियमित रुपमा युरिन लगायतको टेस्ट गरिरहनुपर्छ ।

नियमित भेटघाट र बाहिर हिँडडुल गर्न पनि समय लाग्ने चिकित्सकहरुले बताएका छन् । उपचारमा संलग्न प्रा. डा. उत्तम शर्माले भने, ‘बालुवाटार गइसकेपछि पनि धेरै मानिससँग भेटघाट गर्न दिँदा उहाँलाई संक्रमणको जोखिम हुन्छ ।’

Advertisement

चिकित्सकहरुका अनुसार मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिलाई तीन महिनासम्म संक्रमणको उच्च जोखिम हुन्छ । त्यसैले यो अवधिसम्म भीडभाड तथा सार्वजनिक कार्यक्रमहरुमा नजान प्रधानमन्त्री ओलीलाई सुझाइएको छ । उनीहरुका अनुसार प्रधानमन्त्रीलाई बालुवाटारमा शान्त र सफा वातावरणमा राख्नुपर्छ । त्यसअनुसारकै व्यवस्था बालुवाटारमा मिलाइएको उनको निजी सचिवालयले जनाएको छ ।

तर उनले आवश्यकत सतर्कताका साथ बालुवाटारबाटै आफ्नो नियमित काम गर्नसक्ने चिकित्सकहरुले बताएका छन् ।प्रधानमन्त्री ओली दोस्रो मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा अस्पताल भर्ना भएका थिए । उनको शरीरमा २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । अस्पतालमा रहँदा उपचारमा संलग्न चिकित्सकहरु बाहेक आठौं दिन मिर्गौला दाता समीक्षा संग्रौला र नवौं दिन प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई भेट्न दिइएको थियो ।

Advertisement

प्रतिक्रिया