दोधारमा प्रधानमन्त्री ओली : चीन जाने कि भारतीय समकक्षीलाई स्वागत गर्ने ?नाकाबन्दीपछि भारतीय प्रधानमन्त्री मोदीले वैशाखको अन्तिम साता नेपालको पहिलो भ्रमण गर्ने

विदुर खबर २०७५ वैशाख ९ गते ७:३६

संविधान सभाको ठूलो बहुमतले पारित गरेको नेपालको संविधान, २०७२ प्रति असन्तुष्टि जनाउँदै नाकाबन्दी गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै महिनाको अन्तिमतिर नेपालमा भ्रमणमा आउने भएका छन् ।

चैत तेस्रो साता भारतको तीनदिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली रहँदा प्रधानमन्त्री केपी ओलीले सबैजसो औपचारिक र अनौपचारिक कार्यक्रममा भूगोलले सानोठूलो भए पनि नेपाल र भारतको हैसियता एउटै भएकोमा जोड दिएका थिए । तर, महिना दिन नबित्दै उनको कथनविपरीतका कूटनीतिक व्यवहार देखिन थालेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको मिति तय गर्ने विषय यसको उदाहरण भएको छ । मे महिनाको दोस्रो साता प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्ने सन्देश भारतले पठाइसकेको समाचार परराष्ट्र मन्त्रालय स्रोतलाई उद्धृत गर्दै आजको कान्तिपुर दैनिकमा नयाँदिल्लीबाट सुरेशराज न्यौपानेले समाचार लेखेका छन् ।

भारतको पछिल्लो प्रस्तावले काठमाडौंलाई अप्ठेरो पारेको देखिन्छ । नेपालका प्रधानमन्त्रीहरुले पहिलो विदेश भ्रमण भारतकै गर्ने परम्परालाई निरन्तरता दिएका ओलीको त्यसपछि उत्तरी छिमेक चीनको भ्रमणमा जाने तयारी सुरु भइसकेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको साताव्यापी चीन भ्रमण त्यही उद्देश्यमा केन्द्रित थियो । तर, ज्ञवाली काठमाडौं ओर्लदाँ नओर्लँदै दिल्लीले मोदीको नेपाल भ्रमणको मितिसहितको सन्देश पठाइसकेको छ ।

कान्तिपुर दैनिकमै चन्द्रशेखर अधिकारीले गरेको समाचार टिप्पणीमा भनिएको छ – भारतको तीनदिने राजकीय भ्रमणलगत्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बेइजिङ पठाएका प्रधानमन्त्री केपी ओली पहिला चीन भ्रमण गर्ने कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौंमा स्वागत गर्ने दोधारमा छन् । स्रोतका अनुसार मोदी काठमाडौं ओर्लनुअघि नै प्रधानमन्त्री बेइजिङ पुगेर फर्कने बारे आन्तरिक छलफल चलिरहे पनि निर्णय हुन बाँकी छ । समाचारमा उल्लेख छ – परराष्ट्र मन्त्रायलमा प्रधानमन्त्रीको उत्तर यात्रा र मोदीको काठमाडौं यात्राबारे लगातार छलफल भइरहे पनि कुन पहिला भन्ने टुंगो लाग्न सकेको छैन ।

अन्य समाचार 

आजका सबैजसो पत्रपत्रिकाले आज हुने भनिएको सत्ता साझेदार दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीचको एकता हुन नसके पनि आज दुवै पार्टीले एकताको सन्देश दिने तयारीमा रहेको उल्लेख गर्दै समाचार प्रकाशित गरेका छन् ।

कान्तिपुर दैनिकमा शेखर अधिकारीले लेखेको समाचारमा यसअघि तय भएको मिति टरे पनि एमआले र माओवादीका शीर्ष नेताले सार्वजनिकरुपमा एकताको सन्देश दिँदै कार्यकर्तालाई आश्वस्त पार्ने उल्लेख गरिएको छ । पहिलो पृष्ठमा प्रकाशित समाचारमा आज संयुक्तरुपमा एकताको सन्देश दिने तयारी छ ।

गोरखापत्र दैनिकले पनि आज संयुक्त कार्यक्रमका बारेमा पहिलो पृष्ठमा समाचार प्रकाशित गरेको छ । गोरखापत्रमा प्रकाशित समाचारअनुसार सोमबारसम्म विवादित विषयहरु हल गर्ने सम्बन्धमा तयारी भइरहेको छ ।
नागरिक दैनिकले एमाले–माओवादी एकतामा अल्झन, गुज्रियो वैशाख ९ शीर्षकमा समाचार लेखेको छ । मणि दाहालले लेखेको समाचारमा एमाले र माओवादी केन्द्रका नेताहरुले एकीकरण निश्चित भए पनि कहिले हुन्छ भन्नसक्ने अवस्था नभएको बताएको उल्लेख छ ।

नागरिक दैनिकले परराष्ट्रमन्त्रीको चीन भ्रमणका क्रममा रेलमार्ग अनुदानमा बनाइदिन चीनसँग आग्रह भन्ने शीर्षकको समाचार पनि प्रकाशित गरेको छ । केरुङबाट काठमाडौं रेल ल्याउन तीन खर्ब रुपैयाँ भन्दा बढी लाग्ने प्रारम्भिक अनुमान छ ।

नयाँ पत्रिका दैनिकले पनि यो समाचारलाई पहिलो पृष्ठमा प्रकाशित गरेको छ । चीनलाई नेपालको प्रस्तावः रेलमार्गमा लगानी गर्नुस् शीर्षकमा समाचार लेखिएको छ ।  नयाँ पत्रिका दैनिकले यातायात क्षेत्रमा २० वर्षको विकास सडक ५ र गाडी १२ गुणा वृद्धि भएको तथ्यांकसहितको समाचारलाई मुख्य समाचार बनाएको छ ।

अन्नपूर्ण पोस्टले पनि एकतामा आशंका नगर्न संयुक्त अपिल गर्न लागिएको भन्दै पहिलो पृष्ठमा समाचार प्रकाशित गरेको छ ।  राजधानी दैनिकले पनि आज एकताको ठोस सन्देश दिने भन्दै पहिलो पृष्ठमा समाचार लेखेको छ । परराष्ट्रमन्त्रीले चीनसँग गरेको आग्रहलाई पनि राजधानी दैनिकले पहिलो पृष्ठमा स्थान दिएको छ ।

दृष्टिकोण र विचार 

अन्नपूर्ण पोस्टमा पूर्वन्यायाधीश बलराम केसीको विचार प्रकाशित छ । पूर्वविशिष्टलाई सुविधा शीर्षकमा लेखिएको विचारमा भनिएको छ – देउवाको पालाको सुविधाअनुसार गाडी सम्बन्धित व्यक्तिले किन्नुपथ्र्यो र तेल, ड्राइभर मर्मतमा सरकारी खर्च हुँदैनथ्यो । अहिलेको  विधेयकमा ड्राइभर, तेल, मर्मतलगायत सम्पूर्ण खर्च सरकारको हुने र गाडी कवाडी भएपछि सरकारलाई फिर्ता आउने हुन्छ । यो विधेयकले सरकार, करदाता र जनतालाई मुर्ख बनाएको छ ।

चीन र भारतको मुख ताक्ने होइन, रेलमार्ग नेपाल आफैंले बनाउनुपर्छ भन्ने शीर्षकमा आजको नयाँ पत्रिका दैनिकमा पूर्वाधार नीतिविज्ञ डा. सूर्यराज आचार्यको दृष्टिकोण प्रकाशित छ ।

अन्तरिम आदेशले १ खर्ब राजस्व अपलचन शीर्षकमा नागरिक दैनिकमा पूर्वकार्यवाहक महालेखापरीक्षक सुकदेव भट्टराई खत्रीको विचार प्रकाशित छ । विचारमा अन्तरिम आदेशको व्यापक दुरुपयोग भएको र यस्ता कामबाट देशलाई टाट पल्टाउने कार्य भएकोबारे सार्वजनिक बहस सुरु भएको उल्लेख छ । गणतन्त्रको पहिलो चुलवुल शीर्षकमा कान्तिपुर दैनिकमा किशोर नेपालको दृष्टिकोण प्रकाशित छ । संघीय सरकार उत्तर– दक्षिण रेल चलाएर पूर्व–पश्चिमका जनतालाई सुख र सन्तोष दिने पक्षमा छ । नेपाली जनता रेल चढ्ने आशाले मात्रै धानिएका छन् ।

सम्पादकीय 

राजधानी दैनिकले विदेशमा काम गर्न गएका पीडामा परी स्वदेश फर्केका चेली घरपरिवार र आफन्तबाट तिरस्कृत बनेपछि उनीहरुको जाने ठाउँ कहिँ बाँकी नरहने हुँदा उनीहरुलाई आश्रय दिनुपर्ने भन्दै सम्पादकीय लेखेको छ ।

विमानस्थलमा प्रविधि प्रबन्ध शीर्षकमा अन्नपूर्ण पोस्टले सम्पादकीय लेख्दै भनेको छ– थप अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेतर्फ सरकारले बढाएको पाइला छिटो बढ्न जरुरी छ ।

कूटनीतिक हलचल शीर्षकमा नयाँ पत्रिका दैनिकले सम्पादकीय लेखेको छ । पछिल्लोपटकको कूटनीतिक हलचलले  नेपाल, भारत र चीनबीचको पुलका रुपमा विकास हुने र नेपालको आर्थिक विकासका क्षेत्रमा त्रिदेशीय सहकार्य हुने सम्भावनालाई संकेत गरेको सम्पादकीयमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्नुपर्ने विषयमा सम्पादकीय लेख्दै नागरिक दैनिकले त्रिभुवन विमानस्थलको सुधारमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गरेको छ ।

काष्ठमण्डप पुनर्निर्माणमा खिचातानी शीर्षकमा कान्तिपुर दैनिकले सम्पादकीय लेखेको छ । सम्पादकीयमा महानगरले स्थानीय समुदायलाई विश्वास लिएर काष्ठमण्डपको पुनर्निर्माण पुरातात्विक मापदण्डअनुसार नै जतिसक्दो छिटो अघि बढाउनुपर्ने उल्लेख छ ।

तस्बिर, भारतीय प्रधानमन्त्री मोदीको ट्वीटरबाट (फाइल तस्बिर)

प्रतिक्रिया