कोरोना भाइरसबाट नआत्तिऔँ, तर हात धुन चाहिँ नबिर्सौं
यतिबेला कोरोना भाइरसको प्रकोपले पूरै विश्व त्रसित छ । शनिबारसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ ।
अहिलेसम्म ८७ देशमा फैलिसकेको कोरानाको संक्रमणबाट मृत्यु हुनेको संख्या भने करिब ३ प्रतिशत रहेको छ । अर्थात् हालसम्म कोरोनाको संक्रमणबाट ३ हजार ३ सय ८१ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार चीनबाट फर्केका एक युवक कोरोनाबाट निको भइसकेपछि नेपालमा भने अहिलेसम्म १ जनामा पनि कोरोना भाइरसको संक्रमण देखा परेको छैन ।
चीन, दक्षिण कोरिया, इटाली र जापानमा कोरोना संक्रमण अन्य देशको तुलनामा बढी देखिएको छ । यद्यपी, कोराना भाइरसको संक्रमणबाट निको भएर घर फर्कनेको संख्या पनि बढेको छ । हालसम्म ५२ हजारभन्दा बढी निको भएर अस्पतालबाट डिस्चार्ज भइ घर फर्किसकेका छन् ।
मृत्यु हुनेमा दीर्घ रोग र बढी उमेर समूहका मानिसहरुको संख्या बढी छ । महिलाकोे तुलनामा पुरुषको संख्या बढी छ भने बालबालिका र ३० वर्षभन्दा कम उमेर समूहमा संक्रमण एवं मृत्यु हुनेको संख्या झनै न्यून छ ।
तर, यसको फैलँदो क्रमका कारण कोरोना भाइरसबाट विश्व नै त्रसित बनेको छ ।
संक्रमित रोगका कारण मानवले त्रास बेहोर्नु परेको यो पहिलो पटक भने होइन । शताब्दी अघि पहिलो विश्वयुद्धबाट शान्तिको स्वास फेर्न सुरु गरेको विश्वलाई ‘स्पेनिस फ्लु’ ले ठूलो संकटमा पारेको थियो ।
विश्वयुद्धमा २ करोडभन्दा बढी मानिसले ज्यान गुमाएका थिए । तर, स्पेनिस फ्लुका कारण ५ देखि १० करोड मानिसको ज्यान गएको अनुमान छ ।
कोभिड–१९ को संक्रमण र सामान्य रुघाखोकीको लक्षण लगभग एउटै किसिमको देखिएको छ । संक्रमणपछि सामान्य रुघाखोकी लागेजस्तै गरी मानिसलाई सञ्चो हुन्छ । तर, थोरै मानिसमा यसको जटिल समस्या देखिन्छ
विश्वयुद्धका बेला सैनिक क्याम्पहरुबाट उत्पन्न भएको अनुमान गरिएको भाइरसबाट ५० करोडभन्दा बढीमा संक्रमित भएका थिए । स्पेनिस फ्लुबाट विश्वको एकतिहाइ जनसंख्या संक्रमित भएको थियो भने देखि ३ प्रतिशत संक्रमितको मृत्यु भएको थियो ।
त्यसैले, कोरोना भाइरसबाट धेरै नै आत्तिनु पर्ने अवस्था छैन । यद्यपी, यसको संक्रमण न्युन गर्नु अथवा सर्न नदिनु अत्यावश्यक छ ।
यो रोकथामका लागि वैज्ञानिक एवं फर्मास्ट्यिुकल्सहरुबीच कोरोना भाइरसको खोपको दौड चलिरहेको छ । यद्यपी हाल परीक्षणका लागि पठाइएका खोप प्रयोगमा आउन कम्तिमा १८ महिना लाग्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यसकारण, संक्रमण हुन नदिनु नै कोरोना भाइरसबाट बच्ने सबैभन्दा ठूलो उपाय हो ।
के हो कोरोना भाइरस ?
कोरोना भाइरस एक भाइरसमात्र होइन, यो भाइरसहरुको एक ठूलो समूह हो । यो भाइरसको समूहले श्वास प्रश्वाससम्बन्धी गम्भीर समस्या सिर्जना गर्छ ।
हाल प्रकोप फैलिएको कोरोना भाइरसको समुहलाई ‘कोभिड–१९’ नाम दिइएको छ । यस्तै समूहको भाइरसको प्रकोप सन् २०१२ मा पनि फैलिएको थियो ।
त्यतिबेला साउदी अरेबियामा पहिलो पटक देखिएको यसै समूहको भाइरसको संक्रमणलाई ‘मध्यपूर्वी श्वास प्रश्वास समस्या’ (मेर्स) नाम दिइएको थियो ।
सन् २०१७ सम्म विश्वका २१ देशमा २ हजार जनामा संक्रमण भेटिएको थियो भने ६ सयको मृत्यु भएको थियो । विश्व स्वास्थ्य संगठनले यो समूहको भाइरसले भविष्यमा महामारी फैलाउन सक्ने उल्लेख गर्दै थप अनुसन्धान र अध्ययनका लागि आग्रह गरेको थियो ।
त्यस्तै, कोरोना भाइरस समूहकै ‘गम्भीर श्वास प्रश्वास समस्या’ सार्सकोे प्रकोप सन् २००३ तिर फैलिएको थियो । अहिलेसम्म यो समूहका भाइरसको संक्रमण चमेरा, उँट र मानिसमा फेला परेको छ ।
कोभिड–१९ ले ‘कोरोना भाइरस–२०१९’ भन्ने जनाउँछ । सुरुमा ‘वुहान भाइरस’ नाम दिन खोजिएपनि अन्तर्राष्ट्रिय मापदण्ड नमिलेपछि यसको नाम परिवर्तन गरिएको थियो ।
के गर्छ कोरोना भाइरसले ?
कोभिड–१९ धेरै भन्दा धेरै रुघासँग मेल खाएको देखिएको छ । यसबाट संक्रमित धेरैजसोमा लगातार खोक्ने, ज्वरो आउने, नाकबाट पानी बग्ने, दुख्ने र पीडा हुने लक्षण देखिएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार धेरै मानिसहरु संक्रमणपछि केही दिन बिरामी पर्छन् र त्यसपछि आफै निको हुन्छन् ।
तर, २० प्रतिशतभन्दा कम मानिस, जसमा पहिलादेखि नै दम, मधुमेह लगायत श्वासप्रश्वास सम्बन्धी समस्या छ र ६० वर्षभन्दा माथि उमेरसमूहका छन्, उनीहरुमा अन्यको तुलनामा जटिल समस्या देखिएको छ । यस्ता बिरामीमा निमोनियाको सम्भावना बढी देखिएको छ ।
कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको दर ३.४ प्रतिशत देखिएको छ, जुन मौसमी रुघाका कारण मृत्यु हुनेदर १ प्रतिशतभन्दा बढी त हो नै । तर संक्रमितका तुलनामा यो त्यति ठूलो संख्या भने होइन ।
१० प्रतिशत मृत्युदर रहेको सार्स र ३० प्रतिशतभन्दा बढी मृत्युदर रहेको मेर्सको तुलनामा कोभिड–१९ को मृत्युदर कम नै हो । तर, पनि मुटु रोग र श्वासप्रश्वास सम्बन्धी समस्या भएका मानिसहरुमा मृत्युको जोखिम बढी छ । त्यसकारण चीनले यसकाविरुद्ध गम्भीर कदम चालेको छ ।
यो रोगका कारण मानिसहरु बढी आत्तिनुको अर्काे कारण यसको संक्रामक क्षमता बढी देखिनु पनि हो । यो फैलिन नदिनका लागि सचेतना गराउने उद्देश्यले विश्व स्वास्थ्य संगठनले समेत ठोस कदम चालिरहेको छ ।
संक्रमणबाट बच्ने उपाय
कोभिड–१९ को संक्रमण र सामान्य रुघाखोकीको लक्षण लगभग एउटै किसिमको देखिएको छ । संक्रमणपछि सामान्य रुघाखोकी लागेजस्तै गरी मानिसलाई सञ्चो हुन्छ । तर, थोरै मानिसमा यसको जटिल समस्या देखिन्छ ।
त्यसकारण जाँचविना संक्रमित व्यक्ति पहिचान र संक्रमण भए नभएको थाहा पाउन कठिन देखिएको छ । संक्रमणबाट बच्न र संक्रमण हुन नदिन प्रत्येकले सतर्कतास्वरुप निम्न उपाय अपनाउनु पर्ने देखिन्छ ।
- साबुन पानीले बेला–बेला राम्रो हात धुनु संक्रमणबाट बच्ने पहिलो उपाय हो । तर, ख्याल गर्नुस्, कम्तिमा २० सेकेण्ड जति हात धुनै पर्छ ।
- धेरै मानिसले छोएको ठाउँमा आफूले छोएपछि र घर बाहिरबाट आएपछि राम्रोसँग साबुन पानीले हात धुनुपर्छ ।
- छालाबाट नसर्ने भएपनि भित्री शरीरसँग सम्बन्ध राख्ने अंगहरु जस्तै ः नाक, मुख र आँखा छुनु परेमा हात धोएर मात्रै छुने गर्नुपर्छ ।
- ६० प्रतिशतभन्दा बढी अल्कोहलको मात्रा रहेको सेनिटाइजरको प्रयोग गरेर पनि हात धुन सकिन्छ । यद्यपी, विज्ञहरुले साबुन नै बढी प्रभावकारी रहेको बताएका छन् ।
- संक्रमण हुन सक्ने ठाउँमा जानु हुँदैन ।
मास्क– कम प्रभावकारी
स्वास फेर्न हावाको स्वच्छता आवश्यक हुन्छ । त्यसकारण मास्कको प्रयोग गर्नुअघि मास्क प्रयोग गर्ने तरिका र मास्कको गुणस्तर थाहा पाउनु पर्छ ।
मास्कको प्रयोगले संक्रमणको सम्भावना कम गर्ने भनिएपनि यसको प्रभाव थोरै मात्र रहेको विज्ञहरुको भनाइ छ ।
त्यसकारण सुरुमा संक्रमित र संक्रमितको सम्पर्कमा आउने व्यक्तिले भने मास्कको प्रयोग गर्नु अत्यावश्यक देखिन्छ । त्यसका लागि ‘एन–९५ मास्क’ सबैभन्दा प्रभावकारी हुन्छ भने त्यसपछि ‘सर्जिकल मास्क’ प्रभावकारी हुन्छ ।
अन्य मानिसहरुले हाच्छ्युँ गर्दा टिस्यु पेपरको प्रयोग गरेर फाल्नु र अर्काे मानिस भन्दा कम्तिमा १ मिटर दुरी राख्नु उचित हुन्छ । त्यस्तै, प्रयोग गरिरहेको मास्क जथाभावी खोलेर, मास्क लगाएकै बेला त्यसैमा हाच्छ्यु गरेपछि फेरि त्यही मास्क लगाउनु भन्दा नलगाउनु नै उपयुक्त हुन्छ ।
यदि लक्षण देखियो भने के गर्ने ?
यदि ज्वरो र लगातार खोकीको लक्षण देखियो भने आत्तिनु पर्दैन । यो मौसमी रुघाको लक्षण हो । यद्यपी प्रकोप फैलिएको देशबाट र संक्रमितको सम्पर्कबाट आएको अवस्था हो भने सबैभन्दा पहिले कार्यालय वा सार्वजनिक स्थानमा कुनै पनि हालतमा नजाऊँ । त्यसको साटो अस्पताल गएर चेकजाँच गराऊँ । साथै, परिवारमा रहँदा आफू छुट्टै बसौँ ।
(विश्व स्वास्थ्य संगठन, स्वास्थ्य सम्बन्धी समाचार एजेन्सी र अन्य स्रोतहरुको अध्ययनका आधारमा)
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया