बागमती प्रदेशमा मानवअधिकार उल्लङ्घनका घटनामा वृद्धि

विदुर खबर २०७६ फागुन १० गते १९:०३

नुवाकोट ।बागमती प्रदेशमा विगतको तुलनामा मानवअधिकार उल्लङ्घनकाे घटनामा वृद्धि भएको छ।

Advertisement

अनौपचारीक सेवा केन्द्र बागमाती प्रदेश (इन्सेक)द्वारा जारी विवरणअनुसार सन् २०१९ मा बागमती प्रदेशमा एक हजार ४९४ मानवअधिकार उल्लङ्घनको घटना भएको छ। सन् २०१८ मा सो प्रदेशमा ८१९ मानवअधिकारको उल्लङ्घनको घटना भएको थियो।

तुलनात्मक रुपमा २०१९ मा मानवअधिकार उल्लङ्घनका घटना अत्यधिक भएको देखिन्छ। सो अवधिमा राज्यपक्षबाट २१७ जना पीडित भए भने अन्य पक्षबाट एक हजार २७७ जना पीडित भए। त्यस्तै २५३ बलात्कारका घटना भएको छ। प्रदेशमा महिला तथा बालबालिकामा बलात्कारका घटना ३८६ वटा भएकामध्ये बालबालिकाको सङ्ख्या ६५ प्रतिशत छ।

Advertisement

इन्सेकको जारी तथ्याङ्कमा प्रदेशका १३ मध्ये काठमाडौँ र चितवनमा सबैभन्दा बढी बलात्कारको घटना भएका छन्। काठमाडौँमा गत आर्थिक वर्षमा ९७ जना बालिका र ६४ जना महिला बलात्कार भएको जनाइएको छ। चितवनमा २९ बालिका र १६ महिला, ललितपुरमा ३१ बालिका र १४ महिला, भक्तपुरमा २१ बालिका र ११ महिला बलात्कार भएको उल्लेख छ। मकवानपुरमा एक वर्षमा १८ बालिका र नौ महिला, सिन्धुपाल्चोकमा १७ बालिका र ६ महिला बलात्कार भएको वाग्मती प्रदेश इन्सेक संयोजक कृष्ण गौतमले बताए।

त्यस्तै दोलखामा नौ बालिका र तीन महिला, काभ्रेमा नौ बालिका र तीन महिला, नुवाकोटमा १० बालिका र पाँच महिला, सिन्धुलीमा नौ बालिका र पाँच महिला, धादिङमा आठ बालिका र एकजना महिला बलात्कारको शिकार भएको इन्सेकले जनाएको छ। रामेछापमा दुई बालिका र एक महिला, रसुवामा दुई बालिका एक वर्षको अवधिमा बलात्कार भएको हो। संयोजक गौतमका अनुसार चेतना जागृत भएका कारण घटना सार्वजनिक हुँंदै आएको हो।

Advertisement

प्रतिक्रिया